उदीपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सुस्त गतिमा

२०७९ असार ३१ गते १३:२०
उदीपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन  निर्माण सुस्त गतिमा

३१ असार २०७९ लमजुङ । यहाँ मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ ।

निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ । आयोजनाका उदीपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भन्नुभयो, “विविध कारणले गर्दा निर्धारित समयमा काम सम्पन्न भएन”, कामसमेत ढिलासुस्ती भइरहेको छ ।

हालसम्म ६० प्रतिशतको हाराहारीमा मात्र निर्माण सम्पन्न भएको उहाँको भनाइ थियो । छयत्तर किलोमिटर दूरी रहेको लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पुर्‍याउन १९३ वटा टावर आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

यीमध्ये हालसम्म १८ वटा टावर निर्माण भइसकेको छ भने, ५५ वटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताउनुभयो । उक्त टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० वटा टावर उठाउने काम भइरहेको छ । अठार वटा खडा भएको टावरमध्ये १७ वटा उदीपुरदेखि मध्मस्र्याङ्दी र एकवटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ ।

“दोर्दी कोरिडोरका आयोजनाको विद्युत मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ । उदीपुरदेखि मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाउने काम गरेर तार तान्ने कार्य भइरहेको छ ।

उहाँले भन्नुभयो, “यहाँ विभिन्न आयोजना रहेकाले, आयोजनामा उत्पादिन बिजुली जोड्न सहज हुने भएकाले पहिलो प्राथमिकता यस खण्डमा दिएरअघि बढिरहेको र अब एक हप्ताभित्रमा तार तान्ने काम सम्पन्न हुनेछ ।” छ किलोमिटर खण्डको निर्माण अघिल्लो जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारीको रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ ।

त्यस्तै लमजुङ उदीपुर र भरतपुरमा गरी दुईवटा सवस्टेशन पनि निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको उक्त आयोजना तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भएपनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ थियो ।

उहाँका अनुसार सम्झौताअनुसार समयमै सम्पन्न नभइसकेपछि थप गरिएको समयअवधि सकिएकाले अब कति समय थप गर्ने भन्नेबारे छलफल भइरहेको छ । चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको उक्त आयोजना सम्पन्न गर्नका लागि करिब रु तीन अर्ब अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *