Main News

कृषि विकास बैंकको टेण्डरमा अनियमितताको आशंका (भिडियो रिपोर्टसहित)

५५ करोडको ठेक्कामा कम्पनीले सोझै ठेक्का पाउने मापदण्ड राखेर टेण्डर

२०७९ असार २८ गते २१:०१
कृषि विकास बैंकको टेण्डरमा अनियमितताको आशंका (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ काठमाडौं । कृषि विकास बैंकका लागि आवश्यक सुरक्षाकर्मी आपूर्ति गर्ने सेक्युरिटी कम्पनी छनौट प्रक्रियामा मिलेमतो भएको आशंका छ ।

सार्वजनिक खरिद प्रक्रियामै राखिएका कतिपय प्रावधानमा सोझै केही सुरक्षा कम्पनीलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेर प्रतिस्पर्धा गराएको पाइएको हो ।

कृषि विकास बैंकले केही समयअघि बैंकका लागि आवश्यक सुरक्षाकर्मी आपूर्तिका लागि सेक्युरिटी कम्पनी छनौटमा सार्वजनिक खरिद ऐनभन्दा फरक प्रक्रिया अपनाइएको छ ।

कृषि विकास बैंकले राखेका प्रावधान–
–सुरक्षाकर्मीलाई न्यूनतम २१ हजार ३ सय १३ रुपैयाँ ८२ पैसाँ मासिक तलब
–पछिल्लो तीन वर्षमा सबैभन्दा बढी सुरक्षाकर्मी आपूर्ति गरेको कम्पनी हुनुपर्ने

यदि कुनै एकभन्दा बढी कम्पनीले तीन वर्षयता बराबर संख्यामा सुरक्षाकर्मी आपूर्ति गरेको अवस्थामा पछिल्लो आर्थिक वर्ष २ हजार ७७–७८ मा कम्पनीले गरेको आर्थिक कारोबारलाई आधार मान्ने मापदण्ड राखियो ।

बैंकको मापदण्ड हेर्दा कुनै एक सेक्युरिटी कम्पनीका लागि फाइदा हुने गरी मिलोमतो देखिन्छ । बैंकले गरेको खरिद प्रक्रियामा १५ वटा सुरक्षा कम्पनीले आवेदन दिएका थिए । जसमा गरुड सेक्युरिटी प्रा.लि, कान्तिपुर र नेपाल एक्स–टु सेक्युरिटी सर्विस प्रालिलाई छनौट गरिएको छ । छ वटा प्याकेजमा बोलपत्र आव्हान गरिएकोमा तीन वटा प्याकेज गरुडले पाएको छ भने दुई वटा प्याकेज कान्तिपुर र अर्कोमा नेपाल एक्स टु सेक्युरिटी कम्पनी छनौट भएको कृषि विकास बैंकले जनाएको छ ।

बढीमा तीन वटा र न्यूनतम दुई वटा प्याकेजका लागि बोलपत्र आव्हान गरिएको थियो । जसमा गरुडले तीन वटै प्याकेज प्राप्त गर्न सफल भएको छ । नेपालमा सबैभन्दा बढी वार्षिक कारोबार गर्ने कम्पनीमध्ये गरुड पहिलो नम्बरमै पर्ने भएकाले स्वतः सुरक्षकर्मी आपूर्तिका लागि छनौट भएको छ भने कान्तिपुर र नेपाल एक्स टु पनि बढी सुरक्षाकर्मी आपूर्ति गर्ने र वार्षिक कारोबार गर्ने शीर्ष कम्पनीमध्ये पर्छन् । बैंकले गरुड, कान्तिपुर र नेपाल एक्स टु कम्पनीलाई नै छनौट गर्ने गरी मापदण्ड तयार पारेर बोलपत्र निकालेको देखिन्छ । तर बैंक गल्ती स्वीकार्न तयार छैन ।

कम्पनी छनौट गर्नुअघि प्रि–बिड बैंठकमा समेत सबैभन्दा बढी कारोबार गर्ने कम्पनी छनौट गर्ने प्रावधानलाई लिएर प्रश्न उठेको थियो । तर उक्त प्रश्नको समेत सम्बोधन नगरी प्रक्रिया अघि बढाएपछि सार्वजनिक खरिद कार्यालयमा समेत गुनासो परेको थियो ।

सार्वजनिक खरिद कार्यालयले बैंकलाई प्रचलित कानूनमा रहेर खरिद प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो । तर बैंकले पूर्ववत् निर्णयमा कुनै संशोधन नगरी सेक्युरिटी कम्पनी छनौट गरेको हो । गत वैशाख २९ गते दुई वर्षका लागि आवश्यक सुरक्षाकर्मीको सेवा खरिदका लागि बोलपत्र आव्हान गरेको थियो ।

अहिले सबै प्रक्रिया पूरा गरेर बोलपत्र स्वीकृतिका लागि एक हप्ताको समय दिएर आशयपत्रको सूचना प्रकाशित गरेको छ । अब असार मसान्तसम्ममा छनौट भएका कम्पनीसँग सम्झौता हुने बैंकले जानकारी दिएको छ ।

बैंकले दुई वर्षमा १ हजार ५ सुरक्षाकर्मी खटाउने कम्पनीलाई तलबवापत मासिक ५५ करोड रुपैयाँ प्रदान गर्ने छ । करोडौं रुपैयाँको बोलपत्र भएको र छनौट प्रक्रियामा राखिएका प्रावधानका कारण ले आर्थिक लेनदेनका आधारमा कम्पनी छनौट गरिएको आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *