Main News

उपसभामुख चयन प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी

हिमालय टिभी
२०७९ असार २७ गते १८:५२
उपसभामुख चयन प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी

२७ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसले लामो समयदेखि रिक्त रहेको उपसभामुख चयन प्रक्रिया अघि बढाउने बताएको छ ।

कांग्रेसको आजबाट शुरु भएको केन्द्रीय समिति बैठककाबीच सञ्चारकर्मीसँग प्रवक्ता डाक्टर प्रकाशशरण महतले उपसभामुख रिक्त रहेका कारण संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताउनुभयो ।

उहाँले उपसभामुख चयन प्रक्रिया छिट्टै अघि बढाउने जानकारी दिनुभयो । प्रवक्ता महतले उपसभामुख नभएकै कारण पनि संसदमा संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता गराउनुपरेको जिकिर गर्नुभयो । उहाँले विधेयकमा देखिएका प्राविधिक समस्या समाधान गरिने प्रतिवद्धता जनाउनुभयो ।

सरकारले संवैधानिक परिषद्मा उपलब्ध सदस्यको बहुमतबाट संवैधानिक अंगमा नियुक्त गर्नसक्ने प्रावधानसहितको विधेयक पेश गरेपछि चौतर्फी आलोचना भएको छ ।

कांग्रेसकै केन्द्रीय समिति बैठकमा पनि सरकारको आलोचना भयो । यस्तै बैठकमा भातृ तथा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव गरिएको छ । यस्तै बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचार प्रसार समितिले गरेको कामको प्रतिवेदन पेस भएको जानकारी दिनुभयो ।

प्रवक्ता महतले पार्टीको सम्पूर्ण भ्रातृ संगठनहरु पूर्ण रुपमा क्रियाशिल र गतिशिल हुने बताउनु भयो । उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारले जनताप्रति समर्पित हुँदै जनताका तत्कालिक आवश्यकताहरुलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनु भयो ।

आजको बैठकमा प्रदेश सभापतिहरुले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनको प्रभावकारिताबारे आ–आफ्नो धारणा राखेका थिए । अधिकांशले गठबन्धनका अन्य दलहरुबाट धोका पाएको बताएका थिए । प्रदेश सभापतिहरुले प्रतिवेदन पेश गरेपछि केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *