Main News

प्रधानमन्त्री पत्नी आरजु अचानक दिल्लीमा

हिमालय टिभी
२०७९ असार २६ गते १७:१९
प्रधानमन्त्री पत्नी आरजु अचानक दिल्लीमा

२६ असार २०७९ काठमाडौं । चीन र अमेरिकाको नेपाल चासो बढिरहँदा प्रधानमन्त्री पत्नी आरजु देउवा आज भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ ।

वायुसेवा निगमको विमानबाट कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी देउवा दिल्ली पुग्नुभएको हो । उहाँ स्वास्थ्य उपचारका लागि दिल्ली जानुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले कुनै राजनीतिक भेटघाटको कार्यतालिका नरहेको बताए पनि उहाँले सत्तारुढ भारतीय जनता पार्टी भाजपाका केही नेतालाई भेट गर्ने स्रोतले बताएको छ । उहाँले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई रक्षाबन्धन गरेर सम्बन्ध विस्तार गर्नुभएको थियो ।

दिल्लीस्थित नेपाली राजदूतावासले देउवाको दिल्ली भ्रमणको जानकारी रहे पनि राजनीतिक भेटघाटको कार्यतालिकाबारे जानकारी नरहेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहँदा अमेरिकी शर्तबारे भारतको राय बुझ्न प्रधानमन्त्री पत्नी देउवा दिल्ली पुगेको हुनसक्ने कुटनीतिक मामिलाका जानकारहरुले अनुमान गरेका छन् ।

नेपालमा अमेरिका र चीनको तीव्र चासो बढ्दा भारत चिन्तित छ । गत जेठ २८ गते पनि आरजुको दिल्ली दौडाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले प्रश्न उठाएका थिए ।

एमाले सांसद भीम रावलले त अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे भारतीय संस्थापनको राय लिन गएको आरोप नै लगाउनुभएको थियो । त्यसबेलाको दिल्ली दौडाहामा दिल्लीस्थित नेपाली दूतावास जानकार थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *