खेलकूद

क्यानडाविरुद्धको अन्तिम एक दिवसीय खेलमा नेपाल ८३ रनले पराजित

हिमालय टिभी
२०७९ असार २३ गते ८:०७
क्यानडाविरुद्धको अन्तिम एक दिवसीय खेलमा नेपाल ८३ रनले पराजित

२३ असार २०७९ काठमाडौं । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।

१८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव २ ओभरमा १०५ रनमा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाउँदा पवन सर्राफले १४ रन जोडे । विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३–१३ रन बनाउँदै आउट भए ।

त्यस्तै कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा नटआउट रहे । क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २(२ विकेट लिए ।

यसअघि किङ सिटी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा १८८ रनको योगफल तयार पारेको थियो । क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिंग्स खेले । आरोन जोन्सनले ४४ रनमा आउट हुँदा अमर खालीदले अविजित ३० रन बनाए ।

नेपालका सन्दीपले ३ तथा दिपेन्द्रले २ विकेट लिए । नेपाल क्यानडासँगको दुई खेलको एक दिवसीय शृंखलाका लागि त्यहाँ पुगेको हो । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । त्यस्तै स्थानीय ओन्टारियो क्लबविरुद्धको दुबै अभ्यास खेल भने नेपालले जितेको थियो ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपाल क्यानडा भ्रमण गएको हो । नेपाली टोली उतैबाट स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले लिग टू अन्तर्गतको शृंखलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्