खेलकूद

राष्ट्रिय खेलाडी किन हुन्छन् विदेश पलायन ? (भिडियो रिपोर्टसहित)

२०७९ असार २१ गते २०:५०
राष्ट्रिय खेलाडी किन हुन्छन् विदेश पलायन ? (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । राष्ट्रिय फुटबल टोलीका दुई खेलाडी सन्तोष तामाङ र दर्शन गुरुङ विदेश पलायन भए । हुन त यो विषय नयाँ होइन ।

यसअघि पनि थुप्रै स्थापित खेलाडीहरु सुरक्षित भविष्यको खोजीमा खेल क्षेत्रलाई बिट मार्दै विदेश गएका उदाहरण छन् । तैपनि सम्बन्धित निकायले खेल क्षेत्रबाटै खेलाडीलाई बाँच्ने आधार दिलाउन सकिरहेको छैन् ।

हरेक पटक खेलकुदको नेतृत्वमा आउने पदाधिकारीको पहिलो प्रतिबद्धता हुन्छ– खेलकुदको विकास र खेलाडीको सुरक्षित भविष्य । देशका लागि पदक जितेका खेलाडीलाई विभिन्न प्रोत्साहन भत्ता, सेवा सुविधा, खेल जीवनपछि रोजगारी दिनेलगायतका विषयमा मन्त्रालयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि सकारात्मक छ । तर व्यवहारमा त्यो पुरा हुन नसक्दा दिनप्रति दिन खेलाडीहरु खेल क्षेत्रबाट टाढिने अवस्था आइरहेको छ ।

हरेक वर्ष खेलाडीको स्तरवृद्धि र उनीहरूको जीवनयापनका विषयले राम्रै चर्चा पाए पनि बजेटमा सम्बोधन हुन सकेको छैन् । परिणाम कयौं खेलाडी विदेश पलायन हुने अवस्थामा छन् । नेपालमै भएका खेलाडी पनि राखेपले संचालन गर्ने एकाध प्रतियोगिताका सीमित भत्ताबाट जीवन धान्नुपर्ने बाध्यतामा छन् ।

खेलाडीको हक अधिकारका विषयमा आवाज उठाइरहने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि यसतर्फ पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको छ । तर सँधै आश्वासनबाहेक खेलाडीले केही पाउन सकिरहेका छैनन् ।

देशका लागि अन्तर्राष्ट्रिय पदक जित्न सफल कीर्तिमानी खेलाडीले समेत खेल जीवनपछि सुरक्षित भविष्यका लागि कुनै सहयोग नपाएको भन्दै पटकपटक गुनासो पोख्दै आएका छन् । अग्रज खेलाडीको दयनीय अवस्थाबाट वर्तमान र पछिका पुस्तालाई समेत नकारात्मक छाप पारिरहेको छ ।

राखेपले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आए पनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन् । यस बाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् । बाहिरका खेलाडीको अवस्था झनै दयनीय छ ।

पछिल्लो समय फुटबलका उदीयमान खेलाडी सन्तोष तामाङ र दर्शन गुरुङ अष्ट्रेलिया पलायन भए । यसअघि पनि फुटबल खेलाडीहरु एलन न्यौपाने, हेमन गुरुङ, जगजित श्रेष्ठ, सुलभ मास्के लगायतका खेलाडी पनि विदेश भासिए । हालै मात्र भलिबलका राजु विक क्रोयसिया पुगे ।

भलिबल स्टार रमिला तण्डुकार पनि करियरको उच्च फर्ममा रहँदै विदेशीएकी थिइन् । एथ्लेटिक्सकी चन्द्रकला थापा त झन विभागीय क्लबको जागिरनै छोडेर विदेश हानिइन् । खेलक्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । समस्या समाधान गर्न सम्बन्धित निकायले पहल कदमी लिन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्