Main News

पाँच वर्षमा साढे १० हजार महिला तथा बालिका बलात्कृत, पक्राउ पर्नेहरु अधिकांश आफन्त (भिडियो रिपोर्टसहित)

२०७९ असार २१ गते १८:२०
पाँच वर्षमा साढे १० हजार महिला तथा बालिका बलात्कृत, पक्राउ पर्नेहरु अधिकांश आफन्त (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । नेपाल प्रहरीको तथ्याङ्क हेर्दा पाँच वर्षमा साढे १० हजार महिला तथा बालिका बलात्कृत भएका छन् । बलात्कार आरोपमा साढे ११ हजारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु अधिकांश पीडितका आफन्त र चिनजानकै व्यक्ति रहेका छन् । बलात्कारको आरोपमा पक्राउ पर्नेहरु १९ देखि २५ वर्ष उमेर समूहका धेरै रहेको प्रहरीको तथ्याङ्क छ ।

२०७५ साल साउन ११ गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरको उखुबारीमा १३ वर्षीया किशोरी निर्मला पन्तको शव फेला पर्‍यो । बलात्कारपछि हत्या गरेको अवस्थामा उनको शव भेटिएको थियो ।

त्यसको दुई वर्षपछि २०७७ साल माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीमा पनि उस्तै प्रकृतिको घटना भयो । विद्यालयबाट घर फर्कने क्रममा विद्यार्थीहरुले नै भगिरथी भट्टको शव बाटोमूनि झाडिमा भेटाएका थिए । उनको बलात्कार र हत्या आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गर्‍यो ।

२०७८ सालको फागुनमा मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ कि १२ वर्षीया बालिका करुणा राईको शव घरछेउको लालहीरा सामुदायिक वनमा फेला पर्यो । अनुसन्धनको क्रममा उनको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गर्‍यो । यी प्रतिनिधि घटना मात्रै हुन, नेपाल प्रहरीको तथ्याङ्कमा बितेको पाँच वर्षमा १० हजार २ सय ३५ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जसमा ११ हजार ५ सय ९१ जना पक्राउ परेका प्रहरीको तथ्याङ्क छ ।

बलात्कारपछि घटना लुकाउन र कानुनी कारबाहीबाट जोगिन हत्या गर्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०७४–०७५ मा १४ सय ५३ वटा मुद्दा दर्ता हुँदा १६ सय ७४ जना पक्राउ परे, २०७५–०७६ मा २२ सय ३० मुद्दा दर्ता हुँदा २५ सय ७२ जना, २०७६–०७७ मा २१ सय ४४ मुद्दा दर्ता हुँदा २४ सय ५० जना, २०७७–०७८ मा २५ सय ३२ मुद्दा दर्ता हुँदा २८ सय १५ जना र चालु आर्थिक वर्षको जेठ समान्तसम्ममा १८ सय ७७ मुद्दा दर्ता हुँदा २ हजार ८० जना पक्राउ परेको प्रहरीको तथ्याङक छ ।

जबरजस्ती करणी मुद्दा दर्ता हुनेमा प्रदेश १ पहिलो नम्बरमा रहेको छ । प्रहरीको तथ्याङ्क अनुसार १९ वर्षदेखि २५ वर्ष उमेर समूहका पुरुष बलात्कारमा संलग्न रहेको देखिन्छ । पीडित बालिकामध्ये उमेर समुहका आधारमा ११ वर्षदेखि १६ वर्ष उमेर समुहका बढी रहेको देखिएको छ । यसरी हुने बलात्कारका घटनामा हाडनाता जोडिएका नजिककै आफन्तहरुकै संलग्नता बढी पाइएको छ । यस्तै प्रेमी–प्रेमीकाबाट पनि बलात्कार हुने गरेको प्रहरीको तथ्याङ्क छ ।

अधिकांश बलात्कारका घटनामा पीडकले पीडितको हत्या गर्ने वा हत्याको प्रयास गर्ने गरेको बढी मात्रामा देखिन्छ । करणी गरेपछि त्यसलाई ढाकछोप गर्न र कनूनी कारबाहीबाट बच्नलाई हत्या गर्ने गरेको अनुसन्धान र पीडकको बयानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *