रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, मृतक १२ जनाको सनाखत

२१ असार २०७९ मन्थली । रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा आज बिहान भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र अन्य चार जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङका अनुसार मृत्यु हुनेमा सबै भन्दा धेरै सुनापति गाउँपालिका–५ खनियापानीका छन् । मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षीय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्गबहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ वषीय कमल तामाङ, सोही वडाका वर्ष १८ का सुदीप बजगाईँ, सुनापति गाउँपालिका–५ कै २२ वर्षीय विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० वर्षीय तुलबहादुर विक रहेका छन् । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा निधन भएको छ । अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ वषीैय रामबहादु श्रेष्ठ, सोही वडाका २४ वर्षीय बुद्ध तामाङ र वर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ । अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
प्रतिक्रिया