विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

२०७९ असार २१ गते १०:२७
विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

२१ असार २०७९ चितवन । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् ।

दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।

भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।

उद्योग सङ्घ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उहाँले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विद्युत् समस्याका कारण उद्योग सङ्कटमा पुगेका छन् । उपकरण जलेर ठूलो क्षति व्यहोर्नुपरेको छ ।”

उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उहाँको भनाइ छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थसमेत नष्ट हुने गरेको उहाँले जानकारी दिनुभयो । आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंक किस्ता र ब्याज बुझाउनसमेत कठिन अवस्था आएको उहाँले बताउनुभयो ।

प्लाष्टिक उद्योग सञ्चालन गर्दै आउनुभएका पुराना व्यवसायी राजेन्द्र ओलीले लोडसेडिङको समयमा तालिकाअनुसार काम गर्न पाएको भए पनि अहिले झनै अस्तव्यस्त भएको गुनासो गर्नुभयो । प्लास्टोटेक नेपाल र आशीर्वाद पाइप उद्योगका सञ्चालक ओली कच्चा पदार्थ तातेपछि विद्युत् जाँदा कच्चा पदार्थसमेत नष्ट हुने गरेको बताउनुहुन्छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्षसमेत रहनुभएका ओलीले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गर्नुभयो । यस्तै अवस्था रहेमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहने उहाँ बताउनुहुन्छ । उद्योगका अतिरिक्त सर्वसाधारण विद्युत्का कारण हैरान भएका छन् ।

सानातिना व्यवसाय गर्नेहरु इन्भर्टर राख्नुपर्ने बाध्यता पुगेका छन् । तालिकामा गरिएको लोडसेडिङपछिको समयमा इन्भर्टर हटाएका भरतपुरका बासिन्दाले पुनः जडान गर्न बाध्य भएका छन् । भरतपुर–१० का देवीप्रसाद शर्माले विद्युत् प्राधिकरणका अधिकारी र इन्भर्टरलगायतका व्यवसायीको साँठगाँठका कारण विद्युत्मा समस्या सिर्जना गरिएको आरोप लगाउनुभयो ।

विद्यार्थी अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन् । चितवनजस्तो गर्मी ठाउँमा पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम भइरहेकाले समय–समयमा विद्युत् अवरोध भएको दाबी गर्नुहुन्छ । उहाँको भनाइमा धेरै ठाउँमा विद्युत्को सुधारका काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *