आज देशका अधिकांश भू-भागमा मौसम बदली भई वर्षा हुने

२१ असार २०७९ काठमाडौं । आज देशका अधिकांश भू भागमा मौसम बदली भई वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले देशभर मौसम बदली रहने र पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया