अभ्यास खेलमा नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित

२० असार २०७९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
गएराति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो । एकदिवसीय फर्म्याटको पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।
नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो । उसका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङस् खेले ।
सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङस् खेले । रोहितले अविजित ७१ रनको योगदान दिए । यस्तै दीपेन्द्रले ५४ रनको योगदान गरे ।
ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १–१ विकेट लिए । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई एक दिवसीय सिरिज खेल्नेछ ।
त्यसपछि स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । प्रतियोगितामा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया