राजनीति

कांग्रेसभित्र गुट : भागबण्डाको मोडलमा परिवर्तन (भिडियो रिपोर्टसहित)

२०७९ असार १८ गते २०:५४
कांग्रेसभित्र गुट :  भागबण्डाको मोडलमा परिवर्तन (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसमा लामो समय ६०–४० को भागबण्डा चल्यो । पछिल्लो समय कांग्रेसभित्रका गुट छिन्नभिन्न हुँदा भागबण्डाको मोडलमा परिवर्तन आएको छ । तर गुटहरु फेरिए पनि भागबण्डा खोज्ने प्रवृत्ति पनि उसैगरी दोहोरिएको छ ।

कांग्रेसको १४औं महाधिवेशनपछि सुस्ताएको संस्थापनइतर समूह पछिल्लो समय सक्रिय हुन थालेको छ । काठमाडौंको एक पार्टी प्यालेसमा शेखर कोइराला नेतृत्वको सो समूहको बैठक बस्यो । कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीहरु बद्री पाण्डे र जीवन परियारसमेत गुट भेलामा सहभागी भए ।

भेलाले ५ बुँदे निर्णय गर्दै सभापति शेरबहादुर देउवाले पार्टी र भातृ संस्थामा भागवण्डा नदिएकोमा असन्तुष्टि जनाउँदै विधानअनुसार नचलेको आरोप लगाएको छ । महाधिवेशनमा मत दिएका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मतलाई बेवास्ता गरेको आरोप लगाउँदै घुमाउरो भाषामा यो समूहले पार्टीमा पुरानै ६०र४० भागवण्डाको दाबा गरेको छ ।

ससंस्थापनइतर समूहले सभापतिका रुपमा देउवा असफलताको बाटोमा गएको मात्र भनेको छैन । प्रधानमन्त्रीका रुपमा पनि काम गर्न नसकेको टिप्पणी गरेको छ । जनजिविकाको मुद्दामा सरकार गम्भीर हुन नसकेको,आर्थीक सुशासनको खिल्ली उडाएको, परराष्ट्र नीतिमा गठबन्धनमा साझा मत कायम गर्न नसकेको निष्कर्ष शेखर समूहले निकालेको छ ।

कंग्रेसका भातृ संस्था नेविसंघ र तरुण दलमा सभापति देउवाले आफु निकटलाई अध्यक्ष बनाए पनि कार्यसमितिले पूर्णता पाएको छैन । किसान संघ र नेपाल आदिवासी जनजाति संघमा पनि हालै सभापति देउवाले आफू निकटलाई जिम्मेवारी दिनु भएको छ। स्थानीय तह निर्वाचनमा पनि संस्थापनपक्षधरले नै धेरै स्थानमा टिकट पाएका थिए ।

सभापति देउवाको पछिल्लो मूभले आउँदो संघ र प्रदेशको निर्वाचनमा आफूहरु असुरक्षित हुने हो की भन्ने त्रास संस्थापनइतर समुहमा देखिन्छ । आफ्ना लागि संघको चुनाव सुनिश्चित गर्न दबाब बढाउनुपर्ने निष्कर्षमा पुगेको संस्थापनइतर समुहले पछिल्लो समय बढाएको सक्रियतालाई पार्टी सुधार भन्दा पनि भागवण्डाका लागि बार्गेनिङ बढाउने प्रयासकै रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्