Main News

नेपालको अर्थतन्त्रको अवस्थाबारे पूर्वअर्थमन्त्री डा. खतिवडाको यस्तो टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १८ गते १७:५७
नेपालको अर्थतन्त्रको अवस्थाबारे पूर्वअर्थमन्त्री डा. खतिवडाको यस्तो टिप्पणी (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाकै जस्तो नभए पनि सरकारले सुधारको लक्षण नदेखाउँदा थप चिन्ता बढेको बताउनुभएको छ।

राजधानीमा आज भएको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी वर्षको बजेट माथिको छलफल कार्यक्रममा पूर्वमन्त्री खतिवडाले सरकारले अर्थतन्त्रमा देखिएको संकट हल गर्ने भन्दा पनि तमासा हेरेर बसेकाले कतै श्रीलंका नै बन्ने हो की भन्ने मनोवैज्ञानिक त्रास बढेको बताउनुभयो ।

वास्तवमै अर्थतन्त्रको अवस्था राम्रो नभएको भन्दै उहाँले बोल्ने भन्दा पनि संयमता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

खतिवडाले आगामी वर्षको बजेटमा मनमा आएका सबै कुराहरु राखेको भन्दै आलोचना समेत गर्नुभयो । असम्भव र नमिल्दा कुराहरु राखेर बजेट लोकप्रिय बनाउन खोजेको भन्दै ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्न र पाँच वर्षमा व्यापार सन्तुलन कायम गरेर देखाउन चुनौती दिनुभयो ।

यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र, मूल्य वृद्धि र बैंक तथा वित्तीय संस्थाको व्याजदर वृद्धिले अर्थतन्त्रमा समस्या सृजना गरेको भन्दै अर्थतन्त्रमा देखिएको संकट तत्काल हल हुने सम्भावना नरहेको प्रष्ट पार्नुभयो ।

अर्थशास्त्रीहरु डा. गोविन्द नेपाल र डा. दिलनाथ दंगालले वित्तीय क्षेत्र, मौद्रिक क्षेत्र, बाह्य क्षेत्र र आर्थिक वृद्धि एकै पटक चार क्षेत्र ओरालो लाग्नु गम्भीर भए पनि सुधारका लागि सरकार खासै गम्भीर नबनेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *