राजनीति

बागमतीको राजनीतिमा नयाँ नाटक : एमालेसँग सहकार्य गर्दै मुख्यमन्त्री पाण्डे (भिडियो रिपोर्टसहित)

२०७९ असार १७ गते २०:५१
बागमतीको राजनीतिमा नयाँ नाटक : एमालेसँग सहकार्य गर्दै मुख्यमन्त्री पाण्डे (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा सत्तारुढ दलबीच दन्तबजान शुरु भएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहकार्यका लागि आफू खुला रहेको सन्देश दिएको छ ।

सत्तारुढ गठबन्धनबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति बमोजिम कांग्रेस सांसदहरु मुख्यमन्त्री फेर्ने अभियानमा लागिरहेका बेला एमालेले सहकार्यका लागि खुला रहेको सन्देश दिएको हो ।

संघीय संसद विघटनले निम्त्याएको राजनीतिक उलटपुलटकै प्रभावस्वरुप बागमती प्रदेश मुख्यमन्त्री फेरबदलको केन्द्र बनेको छ । हाल एकीकृत समाजवादीबाट मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डेभन्दा अगाडि यो प्रदेशमा दुईजना मुख्यमन्त्री भइसकेका छन् । प्रदेशसभाले एउटा कार्यकाल बिताइनसक्दै अब चौथो मुख्यमन्त्री चयनको तयारी भइरहेको छ र मुख्यमन्त्री फेर्न कांग्रेस–माओवादीका सांसदहरु अभियानमा जुटिसकेका छन् ।

यही परिस्थितिमा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि सरकार गठनका लागि आफूलाई खुला राखेको छ । आगामी निर्वाचनसम्म सत्ता समीकरणमा कुनै फेरबदल नहुने गठबन्धनका दलहरुको हुँकारकाबीचमा एमाले गठबन्धनकै केही दललाई हातमा लिन सके सरकारमा सहभागी हुने मनसायमा देखिएको हो । एमालेले कुनै पनि पार्टीले नीतिगत रुपमै सहमति जनाए आफूहरु सरकारका लागि खुला रहेको बताएको छ ।

गठबन्धनबीच भएको सहमतिअनुसार हालका मुख्यमन्त्री एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र कांग्रेसका प्रदेश सभापतिसमेत रहेका ईन्द्र बानियाँबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने तय भएको थियो ।

तर प्रदेशसभाको आगामी निर्वाचन आउन पाँच महिना मात्रै बाँकी रहँदासमेत पाण्डेले राजीनामा नदिएपछि कांग्रेस र गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्र पाण्डेमाथि हस्ताक्षर अभियानसहित दबाब बढाउन थालेका छन् । प्रदेशको मुख्यमन्त्रीका आकांक्षीसमेत रहेका कांग्रेस नेता बानियाँ भने प्रक्रियाका लागि मात्र हस्ताक्षर संकलन सुरु गरिएको दाबी गर्नुहुन्छ ।

माओवादी पनि सहमति अनुसार एकीकृत समाजवादीले तत्काल मुख्यमन्त्री पद छोड्नुपर्ने पक्षमा छ । समझदारी ६ महिनाका लागि भएको र सो सहमति कार्यान्वयनका लागि एकीकृत समाजवादी तयार हुनुपर्ने उसको भनाइ छ ।

छोटै समयका लागि भए पनि मुख्यमन्त्री फेरिहाल्ने कांग्रेस माओवादीको तयारीका बीचमा एमालेले सहकार्यका लागि खुला रहेको सन्देश दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विगतको राजनीतिक उथलपुथलमा लामै समय एक ठाउँमा रहेका बागमती प्रदेशका कतिपय सांसद उत्तरार्धमा मात्र एकीकृत समाजवादीमा खुलेका थिए ।

जसका कारण यतिबेला नयाँ सरकार गठनका लागि एमालेले खुला रहेको सन्देश दिँदा राजनीतिमा नयाँ बहस सुरु हुन सक्छ । तर केन्द्रकै निर्देशनमा निर्भर नेतृत्वका कारण तत्काल बागमती प्रदेश सरकार गठनमै नयाँ ट्विस्ट आइहाल्ला भन्ने अपेक्षा भने गर्न सकिने अवस्था छैन । तर यो प्रकरणले गठबन्धन दलबीच केही दरार भने ल्याउन सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्