राजनीति

वामदेवको अबको गन्तव्य कता ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १५ गते २१:०१
वामदेवको अबको गन्तव्य कता ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनमा वामदेव गौतम चिरपरिचित नाम हो । खासगरी कम्युनिष्ट पार्टीको विभाजन र एकीकरणमा गौतमको भूमिका अग्रणी रहँदै आएको छ ।

टुटफुट र पदलोलुपताको परिचय बनाएका गौतमले हिजो नयाँ कम्युनिष्ट पार्टी स्थापनाको घोषणा गर्नुभयो । आफ्नो पार्टीलाई देशभरका कम्युनिष्टको केन्द्र बनाउने उद्घोष गरेका गौतमको कदममा विगतमा उहाँसँगै सहकार्य गरेका कम्युनिष्ट नेताहरुसमेत आश्वस्त छैनन् ।

गत वर्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको संघारमा रहँदा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजन हुन नदिन अन्तिमसम्म प्रयास जारी राख्नुभयो । सर्वोच्च अदालतको आदेशपछि माओवादी केन्द्र र नेकपा एमाले पुन ब्यूँतिए ।

माओवादी केन्द्र र नेकपा एमाले ब्यूँतिएपछि पनि आफूलाई पार्टी एकीकरणको जिम्मा दिन गौतमले दुवै पक्षका नेताहरुलाई आग्रह गर्नुभयो । पार्टी एकीकरणको पहल गरे पनि न त गौतम सफल हुनु भयो न त केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले उहाँलाई पत्याए । बरु गौतम आफैँ एक्लिनु पर्‍यो ।

एमालेसमेत फुटेर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी जन्मियो । त्यसपछि लामै समय मौन रहेका गौतम यतिबेला फेरि कम्युनिष्ट पार्टीहरुको एकताका लागि भन्दै अघि सर्नु भएको छ। अघिल्लोपटक नेकपा मिलाउने प्रयास गर्दा नै लगभग एक्लिएका गौतम अहिले कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान नामक पार्टी नै खोलेर सबैलाई आश्चर्यचकित पार्ने प्रयासमा हुनुहुन्छ ।

पार्टी स्थापना गर्दा नै उहाँको आलोचना भैरहेको छ । कतिपयले आफ्नै श्रीमती, छोराको साथबाहेक गौतमको पार्टीमा कुनै प्रभावशाली व्यक्ति नभएको भन्दै पार्टीको आकार बढ्ने र कम्युनिष्ट एकता हुनेमा आशंका गरेका छन्। यसरी आशंका गर्नेहरुमा विगतमा उहाँलाई साथ दिँदै आएर अहिले टाढा भएका कम्युनिष्ट नेताहरु समेत छन् ।

कतिपयले गौतमले आगामी निर्वाचनका लागि बार्गेनिङ गर्ने हतियारका रुपमा पार्टी गठन गरेको दाबी गरेका छन् । सकेसम्म कम्युनिष्ट पार्टीबीच एकता र नभए कार्यगत एकता गर्ने भन्दै गौतमले पार्टी घोषणा गर्दा दिएको अभिव्यक्तिले नै यो आशंकामा बल पुग्ने कतिपयको बुझाइ छ ।

गौतमले २०५४ सालमा तत्कालीन एमाले विभाजन गरी माले गठन गर्नु भएको थियो । एमालेका प्रभावशाली नेतासहित र ठूलो पंक्तिले साथ दिँएको अवस्थामा पनि ५६ सालको संसदीय निर्वाचनमा उहाँ नेतृत्वको पार्टी मालेले एक सिट पनि जित्न सकेन ।

त्यसको झण्डै २ वर्षपछि नेकपा एमालेमै फर्किएका गौतमले अहिले फेरि आफ्नै नेतृत्वमा पार्टी गठन गरेपछि उहाँले पार्टीलाई सशक्त बनाउन सक्ने र सबै कम्युनिष्टलाई एकतावद्ध गर्न सक्नेमा धेरैले आशंका गरेका छन् । पछिल्लो पटक नेकपामै रहँदा देखिएको पदप्रतिको आशक्तिले कद झन कमजोर बनाएकाले पनि यतिबेला गौतमको एकता नामको पार्टीलाई धेरैले खुट्टी देखेरै पत्याउने अवस्था बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्