मल नपाउँदा किसान निराश (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ बर्दिया । अन्नको भण्डार मानिने बर्दियामा धमाधम रोपाईं भइरहेको छ । तर, रासायनिक मल नपाउँदा किसानमा उत्साह देखिएको छैन ।
मध्य असार हुँदा प्रायः किसान खेतमा रोपाईँ गर्न व्यस्त छन् । तर, मनमा भएको चिन्ता भने बाँकी नै छ । रासायनिक मलबिना नै धानको व्याड राखेका किसानले मलबिना नै रोपाईँ पनि गरिरहेका छन् । तर, अब गोड्ने बेलामा पनि मल हाल्न पाइन्छ कि पाईँदैन भन्ने चिन्ताले किसानलाई छाडेको छैन ।
आवश्यकता अनुसार मल नपाउँदा उत्पादन घट्ने चिन्ता किसानमा छ । तर पनि मल पाइन्छ कि भन्ने आशामा हरेक कृषि सहकारीमा पुग्ने गर्छन्, किसान । बर्दियामा वर्षेनी ५० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । जसका लागि वार्षिक १३ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ ।
तीनै तहका सरकारले कृषि क्षेत्रलाई आफ्नो नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राख्ने गरेका छन् । तर किसानले न मल पाएका छन् न त प्राविधिक सहयोग नै । आवश्यक मल अभावका कारण अन्नको भण्डार मानिने बर्दियामा तुलनात्मक रुपमा कम उत्पादन हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया