राजनीति

अन्ततः ओलीपथमै किन लागे नेपाल ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १४ गते २०:१९
अन्ततः ओलीपथमै किन लागे नेपाल ? (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ काठमाडौं । तत्कालीन समयमा नेकपाको अध्यक्ष रहँदा केपी शर्मा ओलीले स्वेच्छाचारी रुपमा पार्टी चलाएको आरोप लगाउँदै माधवकुमार नेपाल समूहले पार्टीमा विद्रोह गर्‍यो । तर, पार्टी स्थापना भएको एक वर्ष नपुग्दै एकीकृत समाजवादीमा वैचारिक स्खलन मात्रै होइन, ओलीपथ मै हिड्न खोजेको आरोप लाग्न थालेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका खरो आलोचकमध्ये अग्रस्थानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चिनिनु हुन्छ । तत्कालीन नेकपामा हुँदा होस् वा नेकपा एमालेमै रहँदा किन नहोस् नेपालले सधैं ओलीको आलोचना गर्नुभयो ।

ओलीले पार्टीलाई कम्पनीको रुपमा एकलौटी ढंगले सञ्चालन गरेको, पार्टीमा फरक विचार राख्नेहरुलाई विचारसम्म राख्न नदिएको, बदलाको भावनाले चल्ने पूर्वाग्रही नेता भएको भन्दै नेपालले आलोचना गर्दै आउनुभयो । नेपालले ओलीलाई लोकतन्त्र विरोधी, तानाशाही र स्वेच्छाचारीको उपमा दिंदै आउनुभएको छ ।

ओली शैलीको विरोध गर्दै आफूले वैचारिक राजनीतिक गर्नकै लागि नयाँ पार्टी गठन गरेको दाबी गर्ने माधव नेपाललाई एक वर्ष नपुग्दै स्वेच्छाचारीको आरोप उहाँकै पार्टीभित्रबाट लाग्न थालेको छ । पार्टीका मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेपछि भने नेपालको पार्टीमा स्थापना गरेको एकीकृत समाजवादीमै सैद्धान्तिक विचलन र विवाद पनि छताछुल्ल भयो ।

नैतिकवान बन्न नेता कार्यकर्तालाई सधैं निर्देशन दिएर नथाक्ने र आफ्ना मन्त्रीहरुलाई अनैतिक काम नगर्न पटकपटक आग्रह गर्ने नेपालले पूर्वमन्त्री प्रेम आलेका अडियो टेप प्रकरणमा सामान्य सोधपुछसम्म नगर्नुले एकीकृत समाजवादी पार्टी र अध्यक्ष नेपालमा आएको वैचारिक र सैद्धान्तिक स्खलन प्रष्टिन्छ । अध्यक्ष नेपालको भनाइ र गराइमा फरक रहेको उहाँकै पार्टीभित्र आलोचना शुरु भएको छ ।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय परिषदको बैठकमै पनि फरक विचार राख्ने नेतालाई बोल्नसमेत अवसर नदिइएको र सचिवालयको निर्णय भन्दै नेपाललाई नै सर्वेसर्वा अधिकार दिइएको आरोप उहाँविरुद्ध छ ।

पार्टीका निर्णय सचिवलाईसम्म जानकारी नदिइएको रामकुमारी झाँक्रीले सार्वजनिक गुनासो नै गर्नुभएको छ । तर एकीकृत समाजवादीका कतिपय नेताहरु भने पार्टी स्थापना भएको छोटो समयमै ठूलो दलको रुपमा स्थापित भएकाले सानातिना समस्या आउनु सामान्य भएको दाबी गर्छन् ।

सार्वजनिक रुपमा ठूला ठूला कुरा गर्ने र नैतिकताको शिक्षा दिने अध्यक्ष नेपाल पार्टीमा देखिएको वैचारिक मतभेद र स्खलन रोक्नका लागि भने असमर्थ देखिनु भएको छ । पार्टीमा वैचारिक स्खलन देखिए पनि त्यसलाई रोक्न नेपाल निरीह सावित भएको कतिपयको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्