राजनीति

विवादको भूमरीमा एकीकृत समाजवादीः अप्ठ्यारोमा माधव नेपाल, मन्त्री हेरफेरको लफडा कायमै (भिडियो रिपोर्टसहित)

२०७९ असार १३ गते २१:००
विवादको भूमरीमा एकीकृत समाजवादीः अप्ठ्यारोमा माधव नेपाल, मन्त्री हेरफेरको लफडा कायमै (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव अन्ततः तीन सातापछि कार्यान्वयन भएको छ ।

मन्त्री हेरफेरमा एकीकृत समाजवादी कठोर भएपछि मन्त्रीहरू पछि हटेका थिए । एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय कार्यान्वयन भए पनि यही कारण पार्टीमा सुरु भएको विवाद भने अब के होला भन्ने प्रश्न उब्जिएको छ ।

मन्त्री हेरफेरको लफडापछि नेकपा एकीकृत समाजवादी विवादको भूमरीमा फसेको छ । पार्टीले मन्त्री फेरबदलको निर्णय गरेसँगै शुरु भएको विवाद निर्णय कार्यान्वयन भइसक्दा सम्म पनि कायमै छ ।

नेतृत्वले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि रुष्ट बनेका ४ मन्त्रीसहित १० सांसद विपक्षमा उभिएर अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका थिए । निवर्तमान मन्त्री प्रेम आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिए पनि अन्यले फिर्ता लिएका छैनन् । जसका कारण विवाद टुंगिएको देखिँदैन ।

सरकारबाट फिर्ता बोलाइएका तत्कालीन मन्त्रीहरुले आफूहरुलाई अपराधीजस्तो व्यवहार गरिएको र नयाँ पठाउन लागिएका मन्त्रीहरु समावेशी तरिकाले छनोट नगरिएको गुनासो गरेका थिए । यही गुनासोबाट नेतृत्वलाई थ्रेट दिने गरी भएको सामूहिक हस्ताक्षरले पार्टी विवादको भूमरीमा फसेको आभास भएको थियो । तर प्रवक्ता जगन्नाथ खतिवडा भने पार्टीभित्र क्रिया प्रतिक्रिया हुनु सामान्य रहेको तर्क गर्नुहुन्छ ।

नेतृत्वले सामान्य भनिरहेको यो विवादलाई अन्यायमा परेको ठानेका नेताहरुले सामान्य हो भनेर स्वीकार गरेको देखिँदैन । ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेकामध्ये हस्ताक्षर फिर्ता नलिएकाबाट कुनै सार्वजनिक प्रतिक्रिया नआउनुले पनि उनीहरु थप असन्तुष्ट रहेको देखाउँछ । जसका कारण यो असन्तुष्टिको नतिजा के होला भन्ने प्रश्न उब्जिएको छ ।

मन्त्री हेरफेर गर्ने निर्णयप्रति आपत्ति जनाएका नेताहरू पार्टी बैठकमै उपस्थित हुन छोडेका छन् । केन्द्रीय कमिटी बैठकमा सहभागी नभएका निर्वतमान मन्त्रीहरु केन्द्रीय परिषद् बैठकमा पनि अनुपस्थित हुनुले एकीकृत समाजवादी पार्टीको मन्त्री हेरफेरको फण्डा सकिए पनि यसबाट निम्तिएको विवादले गहिराई नापिरहेको प्रतीत हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्