राजनीति

वामदेवले थालेको वाम एकता सम्भव छ त ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १३ गते २०:५६
वामदेवले थालेको वाम एकता सम्भव छ त ? (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनसँगै गुमनाम रहेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम अहिले फेरि कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने भन्दै एकता अभियान चलाउँदै हुनुहुन्छ ।

संघ र प्रदेशसभा निर्वाचनको चर्चा शुरु भएसँगै गौतमको एकता अभियान पनि व्युँतिएपछि यो अभियानबारे धेरैको ध्यान तानिएको छ ।

संसद विघटनसँगै विभाजित भएको तत्कालीन नेकपालाई पुनः एकीकरण गर्ने भन्दै ‘नेकपा एकता राष्ट्रिय अभियान’ सुरु गरेका वामदेव गौतम, एमाले नै विभाजित भएपछि हराउनुभयो । दुवै विभाजनमा असहमति राख्दै आफूलाई स्वतन्त्र भनिरहेका गौतम पछिल्लो समय फेरि एकताको गीत गाउन थाल्नु भएको छ । त्यसो त माधव नेपालको एकीकृत समाजवादी पार्टीका लागि चुनावी गीत लेखिदिएपछि एमालेजनले गौतमलाई स्वतन्त्र स्वीकार गरिरहेका छैनन् ।

जे होस् आसन्न संघ र प्रदेशको चुनावी माहोल सुरु भएसँगै यतिबेला उहाँले फेरि कम्युनिष्ट पार्टीहरुबीच एकताको गीत गाउन थालेपछि सबै वाम एकै ठाम हुनुपर्ने बोध गरिरहेका तर भन्न नसकिरहेकाहरुलाई थपडी बजाउने बाहना मिलेको छ ।

त्यसो त गौतमले एकताका लागि मध्यस्थताको भूमिका होइन, पार्टी संगठनकै अभ्यास सुरु गरेर एकता भैहाले आफ्नो भाग पनि सुरक्षित हुने गरी काम थालेको देखिन्छ । त्यसैको शिलशिलास्वरुप गौतमको एकता अभियानको नाममा शनिबार ललितपुरको धोबीघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन र चन्द्रागिरीमा केन्द्रीय समिति बैठक बसेको छ ।

२०७४ को निर्वाचनमा गठबन्धनकै कारण प्राप्त ऐतिहासिक जितको स्वाद सम्झिरहेका नेकपा एमाले, माओवादी वा एकीकृत समाजवादीका नेता सबैमा फेरि पनि गठबन्धन गर्ने चाहना छ । गठबन्धन गर्नै परे वाम पार्टीबीचमै हुनुपर्नेमा उनीहरु स्पष्ट छन् ।

एमाले विभाजनबाट जन्मिएको एकीकृत समाजवादीभित्र पनि वामपन्थी पार्टीबीच एकताको आवश्यक्ता देख्नेहरु छन् ।

अर्को वाम घटक नेकपा माओवादी केन्द्रभित्र पनि उस्तै मत छ । वाम एकता नै नभने पनि एजेण्डा मिल्नेहरु एक हुनुपर्ने माओवादी नेताहरु बताउँछन् ।

एकातिर वामदेव गौतमको अभियान र अर्कोतिर वाम एकताको आवश्यकता । वाहना र चाहना मिले पनि विगतमा औचित्य पुष्टि हुन नसकेको एकतामा फेरि पनि बहस चलाउनुमा तुक नभएको विश्लेषकहरु बताउँछन् ।

गत संघ र प्रदेशसभा निर्वाचनमा वाम पार्टीहरु एक भएर संसदमा करिब दुईतिहाईको शक्ति प्राप्त गरेका थिए । तर नेतृत्वमा देखिएको विचलनले एकता एक कार्यकाल पनि टिक्न सकेन । यतिबेला फेरि बज्न थालेको एकताको गीत सुन्दा राम्रै लागे पनि कार्यकर्ता माझ जाँदा यसको औचित्यको खोजी अवश्य हुनेछ ।

औचित्य पुष्टि गर्ने जवाफ तयार नभएसम्म र योबीचमा बढेको तुषको ओखती नगरेसम्म वाम पार्टीबीचको एकताको सम्भावना कमजोर देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्