Main News

विपक्षीलाई बजेट अनैतिक लाग्दैमा म राजीनामा दिन्नः अर्थमन्त्री शर्मा

हिमालय टिभी
२०७९ असार १३ गते १६:५८
विपक्षीलाई बजेट अनैतिक लाग्दैमा म राजीनामा दिन्नः अर्थमन्त्री शर्मा

१३ असार २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।

आज राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो ।

उहाँले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताउनु भयो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदहरुको सुझावको आधारमा ल्याएको दाबी गर्नुभयो ।

उहाँले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताउनुभयो । मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औद्योकीकरण, उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गर्नुभयो ।

अर्थमन्त्री शर्माले करका दररेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्राधिकारको भएको बताउनुभयो । उहाँले अर्थमन्त्रीले बजेट नल्याएर, करका दररेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गर्नुभयो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता, गरिब कम गर्ने र व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताउनु भयो ।

उहाँले करका दररेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताउनु भयो । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्रीले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गर्नुभयो ।

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *