Main News

सांसदहरुसँगको सवाल-जवाफमा किन सहभागी हुँदैनन् प्रधानमन्त्री देउवा ? (भिडियो रिपोर्टसहित)

२०७९ असार ११ गते १३:५४
सांसदहरुसँगको सवाल-जवाफमा किन सहभागी हुँदैनन् प्रधानमन्त्री देउवा ? (भिडियो रिपोर्टसहित)

११ असार २०७९ काठमाडौं । संसदमा प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ता बस्ने बैठकमा प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने प्रतिनिधि सभा नियमावलीमा छ । तर शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि अहिलेसम्म सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाएका छैनन् ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग सासंदहरुले प्रत्येक महिना प्रत्यक्ष प्रश्न गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था नियमावलीमा छ ।

उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नत्तरको लागि निर्धारण गर्नु पर्ने हुन्छ । तर २०७६ साल फागुन ६ गते अन्तिम पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नोत्तरपछि अहिलेसम्म प्रधानमन्त्रीसंग प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले प्रश्न गर्न पाएका छैनन् ।

अहिले प्रतिनिधिसभामा ११औँ अधिवेशन र राष्ट्रियसभामा १२ औँ अधिवेशन चलिरहेको छ । यो बीचमा १ सय भन्दा बढि बैठक बसिसकेको छ । तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन सकेको छैन । यसले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नदेखिएको स्पष्ट हुन्छ ।

पाँचौ अधिवेशनदेखि अहिलेसम्म एक सयभन्दा बढी बैठक बसेका छन् तर प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेको मन्त्रालयसंग सम्बन्धित बिषयको जवाफ दिने कार्यसूची बन्न सकेको छैन । यसमा संसदप्रति प्रधानमन्त्रीको बेवास्ता र सभामुखकै पनि अरुचि देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *