Main News

मिनी संसदलाई शीर्ष नेताहरुको बेवास्ता (भिडियो रिपोर्टसहित)

२०७९ असार १० गते २१:१९
मिनी संसदलाई शीर्ष नेताहरुको बेवास्ता (भिडियो रिपोर्टसहित)

१० असार २०७९ काठमाडौं । संसदीय समितिहरु बनाउनुको उद्देश्य हो, विषयगत बहस र छलफल गर्न सहज होस् । सबै विषयमा संसदमा दफावार छलफल गर्न सम्भव पनि हुँदैन । त्यसैले संसदीय समितिलाई मिनी पार्लियामेन्ट पनि मानिन्छ । तर त्यही समितिलाई शीर्ष नेताहरुले बेवास्ता गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह, एमाले नेता भीम रावल, माओवादी केन्द्रका कृष्णबहादुर महरालगायतका शीर्ष नेताहरु सदस्य छन् । यसमध्ये केपी ओली समितिको कुनै पनि बैठकमा उपस्थित हुनुभएको छैन । अन्य शीर्ष नेताहरुको उपस्थिति पनि निकै न्यून देखिन्छ ।

यस्तै कानून, न्याय तथा मानव अधिकार समितिमा सदस्य रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अवस्था पनि उस्तै छ । विकास तथा प्रविधि समितिमा सदस्य रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको उपस्थिति पनि शून्यः प्राय छ ।

प्रधानमन्त्री हुनुअघि विकास तथा प्रविधि समितिको सदस्य रहेका बेला शेरबहादुर देउवा एउटा बैठकमा मात्रै उपस्थित हुनु भएको थियो । प्रतिनिधि सभा र राष्टिय सभागरी १६ वटा समिति छन् । समितिमा रहेका शीर्ष नेताहरु हरेक बैठकमा गयल हुँदै आएका छन् ।

जति ध्यानाकर्षण गराउँदा पनि कतिपय सांसदहरु संसदीय समितिप्रति गम्भिर नबनेको आरोप छ । शीर्ष नेताहरुले यसरी बेवास्ता गर्दा अन्य नेताहरुले पनि त्यही सिको गरेर विरलै मात्र उपस्थित हुने गर्नाले संसदीय समितिको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।

संसदीय समितिमा महत्वपूर्ण विषयमा छलफल हुने भएकाले सदस्य रहेका शीर्ष नेता, आमन्त्रण गरिएका प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरुको उपस्थितिले ठूलो महत्व राख्ने गर्छ ।

संसदले पठाएको विधेयक र आफ्नो क्षेत्रभित्र रहेका विषयमाथि विभिन्न कोणबाट छलफल गरी संसदीय समितिले सरकार सम्बद्ध निकायलाई निर्देशन गर्न सक्छ । तर शीर्ष नेताहरु आफू सदस्य रहँदा सम्बन्धित समितिको बैठकमा पनि नजाने सरकारमा रहँदा समितिहरुले दिने निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *