खेलकूद

खेलकुदको राजा भनिने एथ्लेटिक्स नेपालमा भने सँधै पर्दा पछाडि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १० गते २०:४४
खेलकुदको राजा भनिने एथ्लेटिक्स नेपालमा भने सँधै पर्दा पछाडि (भिडियो रिपोर्टसहित)

१० असार २०७९ काठमाडौं । नेपाल एथ्लेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता काठमाडौंमा शुरु भएको छ । खेलकुदको राजा भनिने एथ्लेटिक्स नेपालमा भने सँधै पर्दा पछाडि पर्ने गरेको छ ।

पछिल्ला २ वर्ष कोरोनाको कारण देखाउँदै निष्क्रिय जस्तै बनेको नेपाल एथ्लेटिक्स संघले शुक्रबारदेखि ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता गरेको छ ।

खेलकुदको जननी मानिने एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगिता भनिए पनि आयोजक एथ्लेटिक्स संघले यसको व्यवस्थापनमा खासै ध्यान दिएको देखिएन ।

निर्णायकहरु प्रतियोगिताका विभिन्न इभेन्टमा सहभागी खेलाडी र टोली खोज्नमै हैरानी व्यहोरिरहेका थिए । तर पनि केही नहुनु भन्दा भएका एकाध प्रतियोगितामा खेलकर्मीहरु रमाईरहेका थिए ।

प्रतियोगिताको व्यवस्थापन कतिसम्म कमजोर थियो भने सटपुट र ज्याब्लिन थ्रो का लागि मैदानको टुंगोसमेत थिएन । खेलाडीहरु पनि आफ्नो इभेन्ट कुन बेला कहाँ हुने हो भन्ने अन्यौलमा थिए ।

कतिपय खेलाडी त तयारी एउटा इभेन्टको लागि गरे पनि प्रतियोगिताकै दिन अर्कै इभेन्टमा सहभागी भइरहेका थिए । विरलै मात्र हुने कतिपय इभेन्टमा खेलाडीहरुको आकर्षण नहुनु स्वभाविक हो । तर संघले केही पहलकदमी लिन सकेको खण्डमा एथ्लेटिक्सका त्यस्ता अन्य इभेन्ट पनि खेलाडीहरुका लागि प्रमाणित गर्ने राम्रो अवसर बन्ने थियो ।

उसो त एथ्लेटिक्सको नाममा म्याराथन र केही मध्यम दुरीका प्रतियोगिता बेला बखतमा हुने गरेका छन् । निजि क्षेत्रबाट हुने त्यस्ता प्रतियोगितामा संघको भूमिका खासै देखिँदैन । संघ आफैले पनि एथ्लेटिक्सका अन्य इभेन्टहरुमा ध्यान पुर्याउन सकेको छैन । सिमित स्रोत साधनकाबीच संघले केही प्रयास गरेपनि राज्य स्तरबाटै एथ्लेटिक्स उपेक्षामा परेको संघको ठहर छ ।

प्रतियोगितामा अधिकांश पदक विभागीय खेलाडीले नै हात पार्दा अन्य टोलीका खेलाडीहरु भने अनुभवकै लागि सहभागी भएको देखिन्छ । किनकी वर्षैभरी अभ्यासमा रहने विभागीय टोलीविरुद्ध अन्य टोलीको प्रदर्शन फितलो देखिन्छ । जसका कारण एथ्लेटिक्समा जिम्मेवार निकायको ध्यान नपुगेको देखिएको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीका २ सय ४० खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरिहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्