Main News

आले अभिव्यक्ति : पर्दैन मन्त्री पदमा फरक ? (भिडियो रिपोर्टसहित)

२०७९ असार ३ गते २१:२६
आले अभिव्यक्ति : पर्दैन मन्त्री पदमा फरक ? (भिडियो रिपोर्टसहित)

३ असार २०७९ सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिनुभएको छ । पटकपटक विवादित बन्ने मन्त्री आले यसपटक भने नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई अश्लिल शव्द प्रयोग गर्दै धम्काएका कारण विवादमा मुछिनुभएको हो । पटकपटक आलोचित हुने मन्त्री आलेको मन्त्रीपदमा फरक परेकै छैन !

यो कुनै सामान्य मानिसको आवाज होइन, यो त संस्कृति मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई गर्नुभएको गाली हो । एउटा जिम्मेवार मन्त्रीले अर्को जिम्मेवार अधिकारीलाई गरेको यस्तो गालीले के सन्देश देला ? अर्थात मन्त्रीलाई दिइने सम्मानको कदर हुन्छ त ?

नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई गालीगलौज मात्र होइन, हात–पात नै गरेको सार्वजनिक भएको अडियोमा सुन्न सकिन्छ ।

मन्त्री आलेको यस्तो तल्लोस्तरको गाली पहिलोपटक सार्वजनिक भएको होइन । यो त पछिल्लो संस्करण मात्र हो । यसअघि पनि मन्त्री आले पटक–पटक विवादमा तानिनुभएको छ । गत फागुन ३ गते उहाँले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गाली–गलौज गर्दै धम्क्याएको फोन वार्ता सार्वजनिक भएको थियो ।

यी त भए मन्त्री आलेका केही नमिठो शब्दवाणी । त्यति मात्र होइन, आलेले त नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई त सार्वजनिकरुपमै गाली बेइज्जती गर्नुएको थियो । रेग्मीको कमजोरी भए कानूनी प्रक्रियाबाटै कारवाही गर्न सकिन्थ्यो, मन नपरेको भन्दैमा गाली गलौजमै उत्रिंदा मन्त्रीज्यूको हैसियत कहाँ पुग्छ ? त्यतिपनि ख्याल गरेको देखिएन । आले यतिमा मात्र चर्चाको पात्र बन्नुभएको छैन । उहाँ त आफ्नै पार्टी महासचिवलाई चिप्ले–चोर जस्ता शब्द प्रयोग गर्न पछि पर्नुभएन ।

यी त केही प्रतिनिधि घटना हुन् । मन्त्रीज्यूको हावादारी अभिव्यक्तिको त श्रृंखला नै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जस्तो गरिमामय पदमा बसेर कूसंस्कृतिको झलक देखाउँदा अहिले मन्त्री आले चर्चाको पात्र बन्नुभएको छ । मन्त्री आलेको शैलीलाई जानकार के भन्छन त ? हामीले पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई सोध्यौं । उहाँले त पार्टी नेतृत्वलाई नै प्रश्न उठाउनुभयो ।

राजनीतिक विश्लेषकको पनि मत अहिराजको भन्दा फरक छैन । आलेको पटक–पटकको व्यवहारले गुण्डाशैली झल्काएको राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको तर्क छ । वायुसेवा निगमका अधिकारीलाई गरेको दुर्व्यवहार फौजदारी मुद्दा आकर्षित हुने जीवनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आले पटकपटक विवादमा तानिदासमेत न उहाँ सम्बद्ध पार्टीले कुनै प्रतिक्रिया दिएको छ न त प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट नै कुनै टिप्पणी आएको छ । यसले समग्र प्रणालीमै नैतिकताको प्रश्न उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *