खेलकूद

विश्वकप फुटबल: कसलाई सहज र कसलाई अप्ठ्यारो ?

२०७९ असार ३ गते २०:५२
विश्वकप फुटबल: कसलाई सहज र कसलाई अप्ठ्यारो  ?

३ असार २०७९ काठमाडौं । एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको फिफा विश्वकप २०२२ आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ ।

उत्तरी अमेरिकी राष्ट्रहरुको समूह कोन्काफ क्षेत्रबाट कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै टोलीको टुङ्गो लागेको छ । यससँगै फुटबलप्रेमीमाझ यस पटकको विश्वकपमा कुन राष्ट्रले बाजी मार्ला भन्ने चर्चासमेत शुरु भएको छ ।

गत चैतमा फिफा विश्वकप २०२२ को समुह विभाजन भए पनि ३ टोलीको छिनोफानो हुन बाँकी थियो । तर केहि दिन अघि उत्तरी अमेरिकी र क्यारेबियन राष्ट्रहरुको समुह कोन्काफ क्षेत्रबाट कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै टोलीको टुङ्गो लागेको हो । गत मंगलबार राति न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिकाले अन्तिम टोलीका रुपमा विश्वकपमा स्थान बनाएको हो ।

यससँगै कोस्टारिका पूर्व विजेता जर्मनी, स्पेन र जापान रहेको समूह ई मा छ । विश्वकप फुटबलको इतिहासमै पहिलो पटक विन्टरमा हुन लागेको यस संस्करणमा एसियाबाट ६ टोलीको सहभागिता हुनेछ ।

एसियाबाट पाँच टोलीले सिँधै र छनोटमा पाँचौ हुने टोलीले अन्तरमहादेशीय प्लेअफबाट छानिनुपर्ने हुन्छ । आयोजकका रुपमा कतारले पहिलेनै स्थान बनाउँदा इरान, दक्षिण कोरिया, साउदी अरेबिया र जापानले विश्वकपमा स्थान बनाएका थिए । एसियाबाटै प्रतिनिधित्व गर्ने अष्ट्रेलिया प्ले अफबाट विश्वकपमा छनोट हुन सफल भएको हो ।

छनोट भएका सबै ३२ राष्ट्रलाई ८ समुहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा आयोजक कतारसँगै इक्वेडर, सेनेगल र नेदरल्याण्डस् छन् । ८ समूहमध्ये यो समूहमा आश्चर्यजनक नतिजा आउने सम्भावना देखिन्छ ।

उत्कृष्ट फुटबल खेले पनि सधैं अगाभी टोलीको छवी बनाएको नेदरल्याण्डस् र बलियो टोली सेनेगलको सम्भावना देखिँदा इक्वेडर र घरेलु टोली कतारलाई पनि कमजोर मान्न सकिँदैन् । १ पटकको विजेता इङ्ल्याण्ड बाहेक समूह बी मा वरियताका आधारमा अन्य टोली समानस्तरका छन् ।

त्यसैले यस समूहबाट अर्को चरणमा पुग्न तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । समूह सी मा अर्जेन्टिनालाई केही राहत हुने देखिन्छ भने मेक्सिकोलाई पोल्याण्ड र साउदी अरेवियाको चुनौती हुनेछ । २ पटकको विजेता फ्रान्स समूह डी मा रहँदा अन्य टोली तुलनात्मक रुपमा केही कमजोर देखिन्छन् । तर युरोपमा सदाबहार फुटबल खेल्दै आएको डेनमार्क र अफ्रिकी पावर हाउस ट्युनिसिया र एसियाली क्षेत्रको अष्ट्रेलियाको अप्रत्यासित नतिजा पनि नर्कान सकिँदैन ।

४ पटकको विजेता जर्मनी र १ पटकको विजेता स्पेन रहेको समूह ई मा एसियाली पावर हाउस जापान र कोस्टारिका अण्डरडगका रुपमा देखा पर्ने सम्भावना छ । जर्मनी र स्पेन नै यो समुहको बलियो प्रतिद्धन्दीका रुपमा देखिन्छन् ।

विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियम र साबिक उपविजेता क्रोएसिया समूह एफमा बलियो टोलीका रुपमा देखिँदा क्यानडा र मोरोक्कोको चुनौती पन्छाउनुपर्ने हुन्छ । सर्वाधिक सफल ५ पटकको विजेता ब्राजिल तुलनात्मक रुपमा सहज समूहमा छ ।

ब्राजिललाई यस समूहमा स्वीटजरल्याण्ड बलियो प्रतिद्वन्द्वी हुनेछ भने सरप्राइज नतिजा निकाल्न सक्ने सर्बिया र अफ्रिकी देश क्यामरुनको तगारो पन्छाउनु आवश्यक हुनेछ । समुह एचमा पोर्चुगल केही सहज अवस्थामा देखिन्छ । उसलाई २ पटकको विजेता उरुग्वेको चुनौती सामना गर्नु पर्नेछ ।

त्यस्तै दक्षिण कोरिया र यस विश्वकपकै वरियतामा सबैभन्दा तल रहेको अफ्रिकी राष्ट्र घाना यस समूहमा छन् ।

तर आआफ्नो क्षेत्रबाट उत्कृष्ट टोलीका रुपमा विश्वकपमा स्थान बनाएको कुनै पनि टोलीलाई कमजोर मान्न सकिन्न । त्यसैले वरियताका आधारमा तुलनात्मक रुपमा कुनै टोली बलियो वा कमजोर देखिए पनि समूह चरणका खेलबाट मात्र विश्वकपको चित्र देखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्