Main News

सङ्क्रमणलीन न्यायसम्बन्धी कानून संशोधन गरिने

२०७९ असार १ गते १४:२०
सङ्क्रमणलीन न्यायसम्बन्धी कानून संशोधन गरिने

१ असार २०७९ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेश गरिने जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा लान प्रदेश सरकारका प्रतिनिधिसँग पनि परामर्शपछि प्राप्त सुझावका आधारमा कानूनमा संशोधन गरिने बताउनुभयो ।

मन्त्री कोइारालाले न्याय र कानूनमा आम नागरिकको सरल पहुँच र स्वामित्व निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हरेक घरमा नेपालको संविधान उपलब्ध गराउन नागरिक एप्समार्फत् सचेतना विस्तार गरिने र मौलिक हकसम्बन्धी कानून संशोधन वा नयाँ कानून निर्माण गर्नुपरेमा आफ्नो मन्त्रालयले अतिरिक्त बजेटविना आवश्यक सहजीकरण गर्ने अवगत गराउनुभयो । उहाँले हाल ५० भन्दाबढी विधेयक संसद्मा विचाराधीन रहेको र त्यसलाई छिटो विधेयकमा रुपान्तरण गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई संविधानको मर्म र अन्तर्राष्ट्रिय अभ्यासअनुसार अघि बढाइने बताउनुभयो । उहाँले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा व्यक्तिगत आग्रहका आधारमा नभई निश्चित निर्देशिका र क्षमताको मूल्याङ्कलनका आधारमा हुनुपर्ने जनाउँदै छूवाछूत हटाउन कानूनको पालनाका साथै सांस्कृतिक रुपान्तरण र सामाजिक शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री कोइरालाले जातीय विभेदविरुद्धका कानूनको पालना र ती कानूनकारे सञ्चारमाध्यम, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको र निःशुल्क कानूनी सहायत कार्यक्रमलाई गैह्रसरकारी संस्थासँगको पनि सहयोग लिएर प्रभावकारी बनाइने बताउनुभयो । एक प्रश्नको जवाफमा उहाँले मन्त्री, सांसद् वा जनप्रतिनिधि वा कर्मचारीले दोहोरो सुविधा लिन नमिल्ने कानूनी व्यवस्था भएकाले सोको कार्यान्वयनका लागि सम्बन्धित सबैको भूमिका आवश्यक रहेको जनाउनुभयो । सो मन्त्रालयबारे गत जेठ २३ गते प्रतिनिधिसभाको बैठकमा छलफल भएको थियो ।

मन्त्री कोइरालाको जवाफमा थप स्पष्टीकरण माग गर्दै नेकपा (एमाले) सांसद् खगराज अधिकारीले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम किन ढिलाइ भयो ? भनी प्रश्न गर्नुभयो भने एमालेका सांसद् कृष्णभक्त पोखरेलले नेपालको संविधानको मुद्रित प्रति नै नेपालका घरघरमा उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद डा शिवमाया तुम्बाफाङ्फेले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत र सर्वाेच्च अदालतका फैसलालाई पनि ख्याल गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसका सांसद् डिला सङ्ग्रौला पन्तले बलात्कृत महिलाले न्याय पाउन अनशन बस्नुपरेकाले छिटो न्याय दिलाउन आग्रह गर्नुभयो । सोही पार्टीका सांसद् पुष्पा भुसाल गौतमले बलात्कारका घटना बढ्दो भएका अवस्थामा दोषीलाई कारबाही गराउन कानूनमा कहिले संशोधन हुन्छ भनी जिज्ञाशा राख्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद् दुर्गा पौडेलले मिटर ब्याज प्रणाली, ढुकुटीजस्ता कार्यले धेरैको घरबार गुमेको भन्दै यस्तो अवस्थालाई कसरी कानूनी नियन्त्रणमा लिने भनेर खुलाइदिन आग्रह गर्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले अमेरिकी सरकारसँगको एसपिपी सम्झौताबारे स्पष्ट पार्न माग गर्नुभएको थियो ।

निहारिकाको मागप्रति सरकार गम्भीर
काठमाडौँमा नाबालकसहित न्याय मागेर अनशनमा रहेकी महोत्तरीकी निहारिका राजपुतको समस्याका बारेमा सरकार गम्भीर रहेको मन्त्री कोइरालाले बताउनुभयो ।

उहाँले निहारिकाको घटनाका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको प्रतिक्षा गर्नुपर्ने र अन्य वैकल्पिक समाधानका उपायबारे छलफल गर्न सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *