प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाको दृष्टिले नहेर्न परराष्ट्रको आग्रह (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गर्नुभएको हो ।
उहाँले दुई पक्ष सम्बन्धलाई थप मजबुत बनाउन,आपसी सम्बन्धलाई गति प्रधान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनको लागि दुई देशको भ्रमण तथा छलफल अपरिहार्य रहेको दाबी गर्नुभयो । मन्त्री खड्काले दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध बिस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने बताउनु भयो ।
मन्त्री खड्काले अमेरिकी जर्नेलको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) मा हस्ताक्षरका लागि नभएको बताउनुभयो । उहाँले जर्नेलको भ्रमणमा कुनै एसपीपीमा हस्ताक्षर अर्थात अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्ला मात्रै भएको दाबी गर्नुभयो ।
मन्त्री खड्काले नेपाल–भारत सीमा विवाद टुंग्याउन निरन्तर प्रयास भइरहेको प्रष्टोक्ति दिनुभएको छ । उहाँले यसका लागि सन् १९५० को सन्धिको सम्बन्धमा नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन बुझ्न सरकार तयार रहेको स्पष्टीकरण दिनुभयो ।
मन्त्री खड्काले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीका सन्दर्भमा प्रस्ट अडान राखेर निरन्तर संवाद गरिरहेको दाबी गर्नुभएको छ ।
प्रतिक्रिया