Main News

मूल्यमा आएको उतारचढावले मल ल्याउन सकिएनः कृषिमन्त्री यादव

हिमालय टिभी
२०७९ जेठ ३० गते १८:०३
मूल्यमा आएको उतारचढावले मल ल्याउन सकिएनः कृषिमन्त्री यादव

३० जेठ २०७९ काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताउनु भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूची स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताउनु भ भएको हो ।

उहाँले नेपाली किसानलाई मल उपलब्ध गराउने विषय सबै राजनीतिक दलहरुसमेतको साझा भएको बताउनुभयो । उहाँले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया शुरु गरिएपनि समयमै ल्याउन नसकिएको बताउनुभयो ।

मन्त्री यादवले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा नै रहेपनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव भएको जिकिर गर्नुभयो । उहाँले समयमै मल आपूर्ति गर्ने ठेकेदारले मल ल्याउन नसकेकाले सरकारले ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारवाहीको प्रक्रियासमेत शुरु गरिएको बताउनुभयो ।

मन्त्री यालवले साल्ट ट्रेडिङ कम्पनीले ल्याएको २० हजार मेट्रिक टन डिएपी, २२ हजार मेट्रिक टन युरिया असारको अन्तिम हप्तादेखि प्राप्त हुने सम्भवना रहेको दाबी गर्नुभयो । उहाँले जीटुजीको माध्यमबाट भारतबाट मल खरिद गर्नका लागि अहिले डेढ लाखमध्येमा ५० हजार मेट्रिक टन युरिया ३० हजार मेट्रिक टन डिएपी असारको अन्तिमसम्म आउने दाबी गर्नुभयो ।

युरिया , डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको श्रोत सुनिश्चितता गरेको बताउनु भयो ।

मन्त्री यादवले भारतसँग भएको जीटुजी प्रक्रिया पूरा गरेर असार मसान्तसम्म सरकारले मल उपलब्ध गराउने तयारीमा रहेको बताउनुभयो । उहाँले नेपालमा नै मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *