Main News

प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द

२०७९ जेठ २९ गते १२:४८
प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द

२९ जेठ २०७९ काठमाडौं । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ ।

प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत्गृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । ती विद्युत्गृहमा आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युत्गृहबाट विद्युत् उत्पादन स्वतः बन्द हुने छ ।

पहिराले मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्ष २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत्गृहबाट उत्पादित विद्युत् पनि बन्द हुने छ ।

वैकल्पिक व्यवस्थामार्फत उपभोक्तालाई बिजुली
करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने छ । आइतबार मध्यमस्र्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुने छ । आज आइतबार करिब साढे २०० मेगावाट मात्रै विद्युत् निर्यात हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *