Main News

साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २४ गते १८:१४
साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ ।

विभागले केही दिनअघि सूचना निकालेर बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा साउन १ देखि अनिवार्य इम्बोस्ड नम्बर लगाउन भनेको थियो । चौतर्फी विरोधपछि विभागले नयाँ, नवीकरण र नामसारी गरिने सवारीसाधनमा मात्र यो नियम लगाइएको जनाएको छ।

पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताउनु भयो ।

उहाँले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नवीकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरिएअनुसार जडान भए नभएको अनुगमन गर्ने सूचना आएको दाबी गर्नुभयो ।

महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गर्नुभयो ।

इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि नभएको भन्दै विभागले सीमित समयमा कार्य पूरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी रहेको उल्लेख गरेको छ ।

हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

उत्पादन भएका नम्बर प्लेटहरु समयमै सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा ढुवानी गर्न हुलाक सेवा विभागसँग सम्झौता गरिसकिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *