राजनीति

ओलीको आलोचना गर्दा भुसालमाथि अनुशासनको कारबाही ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २२ गते २१:०७
ओलीको आलोचना गर्दा भुसालमाथि अनुशासनको कारबाही ! (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७९ काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथि अनुशासनको डण्डा चलाएको छ ।

सार्वजनिकस्थलमा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले अनुशासन आयोगले भुसालविरुद्ध कारबाही गर्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ । कुनै समय एमालेभित्र चर्को आलोचनाको अधिकार पाएका ओलीले आफू अध्यक्ष हुँदा चाहीँ नेताहरुमाथि किन डण्डा चलाउनुहुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धी, प्रतिद्वन्द्वीदेखि समकक्षीहरुसमेतको खुलेर आलोचना गर्नुहुन्छ । आलोचनामात्र होइन कतिपय सन्दर्भमा उहाँका अभिव्यक्ति सुन्न नसकिने खालकासमेत हुन्छन् ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन र त्यसपछि नेकपा एमालेको पनि विभाजनपछि अध्यक्ष ओलीका अभिव्यक्ति निकै तिखा र निकृष्ट हुँदै गएका छन् । आफ्ना पूर्व समकक्षीहरुको खेदो खन्न ओलीले कतिपय सार्वजनिक मञ्चहरुमा सामान्य आदरार्थी शब्द प्रयोग गर्नसमेत आवश्यक ठान्नु भएन ।

विगतमा पार्टीभित्र आफुलाइ विपक्षी जस्तो भूमिकामा उतारेका ओलीले त्यसबेलाका पार्टी नेतृत्वलाइ खुइलाउन छोड्नुहुन्थेन । तर, अहिले आफ्नो नेतृत्वमा कसैले आलोचना गरे त्यसविरूद्ध जाइलाग्न हदैसम्मको हत्कण्ठा अपनाउन ओली सक्रिय हुनुहुन्छ ।

विरोधी र प्रतिस्पर्धीहरुको जति पनि आलोचना गर्न पाइने र जति पनि खेदो खन्न पाइने अध्यक्ष रहेको पार्टीका नेताहरु भने आफ्नै नेताको वैचारिक दृष्टिकोणमाथि समेत आलोचनात्मक विचार राख्न नपाउने पार्टी बनेको छ, नेकपा एमाले । स्थानीय निर्वाचनमा पार्टीको कमजोर नतिजासँगै नेता भुसालले अध्यक्ष ओलीका कमजोरीहरु औंल्याएपछि पार्टीको संस्थापन पक्ष भुसालविरुद्ध खनिएको छ ।

वैचारिक समूहभित्र विचारका विविधता हुन्छन् । विविध विचारबाट नयाँ विचारको उत्पति हुनु वा कुनै विचार त्यागेर कुनै विचारमा आफूलाई समर्पित गर्नु प्राकृतिक सिद्धान्त हो । विचारहिन र दिशाहिन समूह राजनीतिक पार्टी बन्न सक्दैन । विचारहरु समयक्रमअनुसार विकसित र परिमार्जित हुन्छन् ।

यो कुरा नेकपा एमालेले संस्थागत रुपमा स्वीकार गर्दै आफूलाई माक्र्सवादी र लेनिनवादी भन्दै जनताको बहुदलीय जनवाद जबजको सिद्धान्तमा अगाडि बढाइरहेको छ । जबजकै कुरा गर्ने हो भने यो सिद्धान्त पार्टीका कुनै अध्यक्ष वा कुनै पण्डित वा मौलवीबाट उत्पति भएको होइन ।

एकजना खुला विचारको बहस गर्ने नेता मदन भण्डारीले माक्र्सवाद र लेनिनवादलाई नै सिर्जनात्मक रुपमा व्याख्या गरी नेपाली माटो सुहाउँदो राजनीतिक कार्यक्रम बनाउनु भएको हो । यसरी विगतमा विचारको विविधता स्वीकार गरेको एमाले पार्टीले अध्यक्षमा ओलीलाई विराजमान गराएपछि भने विचारको मन्थनमा समेत विर्को लगाउने प्रयत्न गर्दै आएको छ । त्यसको पछिल्लो उदाहरण भुसालको अभिव्यक्ति बनेको छ ।

चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशन, त्यसअघि र पछि शुभेच्छुक संस्थाहरुका अधिवेशन र साधारणसभाहरुमा देखिएका गतिविधिले एमालेले आफ्नो सारा शक्ति ओली प्रतापीका लागि समर्पित गरिरहेको देखिन्छ । यसको परिणाम पार्टीका नेताहरु कि नेतृत्वको जयजयकार गर्नुपर्ने कि पाखा लाग्नुपर्ने अवस्थामा पुगेका छन् ।

पार्टी विभाजनअघि नेता माधव नेपाललाई साथ दिएको कसुरमा नेतृत्व चयनमै विभेद झेलेका घनश्याम भुसाल एमालेभित्रका वैचारिक अपवाद भने हुनुहुन्न । तर पार्टी विभाजनपछि घनश्यामकै जस्तो पृथक सोच कायम राख्न सक्ने व्यक्तिको कमी चाँहि एमालेमा स्पष्टै देखिन्छ ।

यद्यपि आफ्नै अध्यक्षलाई बेलाबेलामा सचेत बनाउने मञ्चहरु प्रयोग गर्ने कुरामा नहिचकिचाउने व्यक्तिलाई कि अध्यक्षले प्रत्यक्षरुपमा कि त अनुशासन आयोगका नाममा अप्रत्यक्ष रुपमै गला दबाउने कामले एमालेभित्र वैचारिक स्वतन्त्रताको अवस्था कति दयनीय छ भन्ने देखाएको छ ।

कसैको स्वच्छ आलोचना गर्नु वा विचारमा विमत्ति राख्नु लोकतन्त्रको सौन्दर्य हो । त्यसमाथि कम्युनिष्ट पार्टीहरुमा त ठूलो वैचारिक बहस हुन्छ भन्ने चर्चा धेरै नै सुन्ने गरिन्छ । पार्टीमा माक्र्सवादका ज्ञाता र यही वैचारिक शक्तिका कारण पार्टीको ठूलो पंक्तिबाट उत्प्रेरित भइरहने नेतालाई नै एमालेले चलाएको अनुशासनको डण्डाले ओली राजमा अब कसैले शीर ठाडो पार्न पाइँदैन है भन्ने संकेत गरेको हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्