Main News

नेपालको सैन्य क्षेत्रमा अमेरिकी चासो किन बढ्दो ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २१ गते २१:२५
नेपालको सैन्य क्षेत्रमा अमेरिकी चासो किन बढ्दो ? (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । नेपालमा पछिल्लो समय अमेरिकी चासो बढ्दै गएको छ । राजनीतिक क्षेत्रमा मात्रै नभएर नेपालको सैन्य कूटनीतिमा पनि अमेरिकाले जोड लिन थालेको छ ।

नेपाली सेनालाई विभिन्न क्षेत्रमा सहयोग दिँदै आएको अमेरिकाले प्रधानसेनापति प्रभुराम शर्मालाई भ्रमणको निम्तो दिएर आफ्नो सैन्य कुटनीतिलाई थप बलियो बनाउन खोजेको सन्देश दिएको छ ।

नेपाली सेनाले विभिन्न देशका सेनासँग पछिल्लो समय संयुक्त अभ्यासमा गर्दै आएको छ । भारत, चीन, बेलायत, अमेरिका लगायत देशसँग नेपाल सैन्य अभ्यास गर्दै आएको छ । ति मध्ये अमेरिकी सेनासँग बढि अभ्यास गर्ने गरेको छ ।

संयुक्त अभ्यासमा नेपाली सेनाभन्दा अमेरिकी सेनाको चासो धेरै रहेको सुरक्षा मामिलाका जानकारहरु बताउँछन् । सैन्य कुटनीतिमा पनि जोड दिएको अमेरिकाले सैन्य अभ्यासमा मात्रै सिमित नगरेर नेपाली सेनालाई विभिन्न प्रकारका आर्थिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ ।

सेनाका लागि स्काई ट्रक, हातहतियार, रेस्क्यू बोट, तालिम, लगायतका सहयोग अमेरिकाले गर्दै आएको छ । त्यस्तै सैन्य अभ्यास, आर्थिक तथा प्राविधिक सहयोगमा गर्दै आएको अमेरिकाले नेपालको तर्फबाट सैन्य भ्रमणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ ।

तीन महिना अघि मार्चमा अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानूनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको चर्चा गरिएको थियो। नेपाली सेनालाई फरेन मिलिटरी फाइनान्सिङ कार्यक्रम अन्तर्गत सहयोग उपलब्ध गराउँदा मानवीय तथा विपद् प्रतिकार्य र पुनर्निर्माण गतिविधि, अन्तर्राष्ट्रिय शान्ति अभियान, सैन्य व्यावसायिकीकरण तथा तालिम र सीमा सुरक्षा गतिविधिमा मात्रै सहयोग गरिने दस्तावेजमा उल्लेख छ।

सन् २०२० मा ४ करोड डलर विकास सहायता नेपाललाई उपलब्ध गराएको संयुक्त राज्य अमेरिकाले सन् २०२२ का लागि त्यसलाई बढाएर आठ करोड २० लाख डलर पुर्‍याउन प्रस्ताव गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनद्वारा हस्ताक्षरित दस्तावेजमा उल्लेखछ ।

यही दस्तावेजमा अन्तराष्ट्रिय सैनिक शिक्षा आईएमईटी र तालिमसम्बन्धी सहयोगको अलग्गै शीर्षकमा नेपाललाई सहयोग बढाउन प्रस्ताव गरिएको थियो । सन् २०२० मा झन्डै नौ लाख डलर रहेको उक्त क्षेत्रगत सहयोगलाई सन् २०२२ मा १४ लाख डलर पुर्‍याउन सिफारिस गरिएको थियो। ब्लिङ्कनको दस्तावेजमा दक्षिण तथा मध्य एसिया क्षेत्रमा इन्डो–प्यासिफिकसहितका अमेरिकी प्राथमकिताहरुलाई आइएमइटी कार्यक्रमले समर्थन गर्ने उल्लेख छ ।

पछिल्लो पटक प्रधानसेनापति प्रभुराम शर्माको असार दोस्रो हप्ता हुने अमेरिकाको औपचारिक भ्रमण अमेरिकी प्राथमिकता भन्न सान्दर्भिक हुन्छ । नेपालको सेनालाई आधुनिकीकरण गर्न र क्षमता अभिवृद्धिका लागि सहयोग गर्नु सहज रुपमा लिन सकिएपनि नेपाली सेनालाई कुनै अर्को देशविरुद्ध अथवा कुनै छिमेकीविरुद्ध प्रयोग गर्ने स्वार्थका साथ सहयोग गरेको भए त्यो नेपालका लागि मान्य नहुने परराष्ट्रमामिलाका जानकार बताउँछन् ।

अमेरिकाले नेपाली सेनालाई निस्वार्थ सहयोग गरिरहेको छ या कुनै निहित स्वार्थ छ, त्यसको पर्दा विस्तारै उठ्दै जाला । तर, आफ्नो स्वार्थमा ठेस नपुग्ने गरी नेपालले अमेरिकासँग सौहार्द सम्बन्ध राख्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *