Main News

पाठ्यपुस्तक नहुँदा मुगुका १७ हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित ! (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २१ गते २०:५५
पाठ्यपुस्तक नहुँदा मुगुका १७ हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित ! (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ मुगु । शैक्षिक सत्र शुरु भएको तीन हप्ता भइसक्दा पनि मुगुमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नहुँदा मुगुका १ सय ४० सामुदायिक विद्यालयका १७ हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

श्री महाकाली नमूना माध्यमिक विद्यालय, मुगुको कक्षा १० मा अध्यनरत सुरेन्द्र नेपाली र सोनी शाही दैनिक विद्यालय जानुहुन्छ । तर, उहाँहरुको हातमा आजसम्म पाठ्यपुस्तक परेको छैन । पुराना केही थान पुस्तकका आधारमा पठनपाठन भइरहेको छ । पाठ्यपुस्तक नै नहुँदा पठनपाठनमा समस्या भइरहेकोछ ।

यी दुई विद्यार्थी प्रतिनिधि पात्र मात्र हुन् । पाठ्यपुस्तक नहुँदा मुगुका १७ हजार बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ । विद्यार्थीलाई मात्रै हैन पाठ्य पुस्तक नहुँदा शिक्षकलाई पनि समस्या भएको छ ।

स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि २८ लाख ४९ हजार ९७ रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइसकेको जनाएको छ । तर, खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले पुस्तक खरिदको प्रक्रिया अघि बढाएको छैन । खरिद जिम्मा पाएको पुस्तक भण्डारलाई लिखितपत्र पठाएको र मौखिक रुपमा ताकेता पनि गरिएको स्थानीय सरकारले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिकाले आफ्नो पालिका भित्रका ४५ वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक ढुवानीको जिम्मा जयलक्ष्मी पुस्तक भण्डारलाई दिएको छ । पुस्तक खरिदका लागि रुपैयाँ जम्मा गरिसकेको र पुस्तक सुर्खेतमा तयारी अवस्थामा रहेको पुस्तक भण्डार दाबी गर्छ । स्थानीय तह निर्वाचनका कारण पुस्तक आउन ढिलाइ भएको र केही दिनमा नै पुस्तक ल्याउने पुस्तक भण्डारको प्रतिवद्धता छ ।

जिल्लाका चार वटै स्थानीय तहमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । समयमा नै पाठ्यपुस्तक नपुग्दा विद्यालयको अध्ययन अध्यापन प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *