राजनीति

संकटमा सत्ता गठबन्धनको भविष्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २० गते २०:५७
संकटमा सत्ता गठबन्धनको भविष्य (भिडियो रिपोर्टसहित)

२० जेठ २०७० काठमाडौं । स्थानीय तहको निर्वाचनपछि सत्तागठबन्धनमा खटपट शुरु भएको छ । गठबन्धनमा रहेका दलका नेताहरुनै अहिले मुख्य सत्ताघटक नेपाली कांग्रेससँग असन्तुष्ट देखिँदा गठबन्धनको भविष्य संकटमा पर्ने अनुमान शरु भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय सत्ता गठबन्धनको सूत्रधार मानिनुहुन्छ । उहाँलाई एमालेबाट छुट्टिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि साथ दिनुभयो । सत्तागठबन्धन बनाउन जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि सामेल भयो ।

ओलीलाई विस्थापित गर्दै पाँच दलीय गठबन्धनको समर्थनमा नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । तत्कालीन प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध भन्दै एक ठाउँमा आएका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरे । तर, गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका एकीकृत समाजवादी र माओवादी केन्द्र कांग्रेससँग रुष्ट बनेका छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सबैभन्दा असन्तुष्ट देखिएको छ भने गठबन्धनको मुख्यघटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त कांग्रेसमा दम्भ बढेको भन्दै ठेगान लगाइदिनसक्ने चेतावनी नै दिनुभयो ।

प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि अर्को सत्ताघटक जनता समाजवादी पार्टी पनि गठबन्धनमा सन्तुष्ट छैन । जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गठबनधन ‘हिलोको किलो’ बनेको भन्दै विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘विपरीत वैचारिक राजनीतिक धरातलमा उभिएका दलहरुबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सँधै हिलोको किलोझैं हल्लने र केही महत्वकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ । त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन । दिगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धि निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।’

तर, मुख्य सत्ताघटक नेपाली कांग्रेस भने गठबनधनलाई प्रदेश र संघको निर्वाचनसम्म लैजाने पक्षमा देखिन्छ । कांग्रेस स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर एकअर्कालाई शंका गर्नुपर्ने ठान्दैन ।

उसो त गठबन्धन फुटाउन एमालेले प्रचण्ड र नेपाललाई प्रधानमन्त्रीको कार्ड फ्याकेको चर्चा पनि शुरु भएको छ । तर, केही अघि मात्रै अलग्गिएकाले तत्कालै एमाले नेतृत्वमा मााअ‍ेवादी र एकीकृत समाजवादीलाई जानका लागि सहज भने छैन ।

अहिले गठबन्धनभित्र व्यक्त भइरहेको घुर्की र चेतावनी आउँदो निर्वाचनमा मुख्य सत्ताघटक कांग्रेससँग बार्गेनिङका लागि हो वा साँच्चै पुनः वामगठबनधनको बाटोमा दलहरु साँच्चै अघि बढ्ने हो ? त्यसका लागि भने केही समय पर्खनैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्