Main News

विमानस्थल निर्माण : आवश्यकताले भन्दा खर्च बढाउने मेसो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १८ गते २०:५६
विमानस्थल निर्माण : आवश्यकताले भन्दा खर्च बढाउने मेसो (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ काठमाडौं । देशका विभिन्न स्थानमा विमानस्थल निर्माण तथा मर्मतको काम भइरहेको छ । सरकारले यो पटकको बजेटमा पनि डडेलधुरा, बागलुङ, दाङ, टरीगाउँ, टिकापुर, चौरजहारी लगायतका विमानस्थल स्तरोन्नती गर्नका लागि बजेट विनियोजन गरेको छ ।

तर आफ्नै जिल्लामा विमानस्थल बनाउने नेताहरुको होडवाजीका कारण आवश्यक नभएका ठाउँमा पनि विमानस्थल बन्ने क्रम बढेको छ । जसले गर्दा देशको बजेट तत्कालीन आवश्यकताभन्दा बाहिर खर्च हुने देखिन्छ ।

नागरिक उड्डयन प्राधिकरणको २०१९–२० को तथ्याङ्क अनुसार देशभर कुल ५४ विमानस्थल निर्माण भएका वा निर्माणाधीन अवस्थामा छन् । ति मध्ये ३५ वटा सञ्चालनमा छन् भने १९ वटा संचालनमा छैनन् ।

२०६३ सालमा शिलान्यास भएको गुल्मीको रेसुङ्गा विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भयो । टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम बाँकी छ ।

कुल १५६ रोपनी जग्गामा फैलिएको बिमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग निर्माण भईरहेको छ । २०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब संचालनमा आउला भन्ने विश्वास स्थानीयको थियो । तर, पटक–पटकको प्रतिवद्धताले नियमित उडान नभएपछि स्थानीयको आशा मर्दै गएको छ ।

उता, उदयपुरमा सगरमाथा विमानस्थलको प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन पुरा भई रुख कटानका लागि छपानमुछान गर्न स्वीकृति प्राप्त भइसकेकोछ । १५६ हेक्टर जमिनमा निर्माण हुन लागेको विमानस्थल निर्माणका लागि कंकखोला सामुदायिक वन र मोथिहायी सामुदायीक वन क्षेत्रको ४ हजार रुख कटान हुनेछ ।

सप्तरीको राजविराज, मोरङको विराटनगर र धनुषाको जनकपुर विमानस्थल यहाँबाट नजिक रहेको विमानस्थलहरु हुन् । तर, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको पहलमा सगरमाथा विमानस्थलको काम सुरु भएको हो ।

२०६४ सालमा तत्कालीन सभासद् मणी खम्बुको नेतृत्वमा उदयपुरका ८ जना सांसदले परराष्ट्र मन्त्रालयमा विमानस्थल निर्माणका लागि डेलिगेसन दिएका थिए । २०७४ सालमा विमानस्थल निर्माणका लागि मन्त्रालय मार्फत ५० लाख बजेट विनियोजन भएसँगै निर्माणको काम सुरु भएको हो ।

२०१८ सालमा जनश्रमदानसहित निर्माण भएको बागलुङको बलेवा विमानस्थलमा कहिले काँही उडान हुने गरेको थियो । तर, २०४८ सालमा पोखरा–बागलुङको राजमार्ग खुलेपछि विमान अवतरण हुन छोड्यो ।

पुनः २०७४ साल चैत्र ९ गतेपछि यहाँबाट काठमाडौं, पोखरा, भैरहवा र जोमसोमको उडान सुरु भयो । तर, केही महिनापछि विमानस्थल पुनः बन्द भयो । धावनमार्ग कच्ची भएकोले उडान बन्द भएको थियो । हाल धावनमार्ग पक्की बनेको छ भने यस पटकको बजेटमा मर्मतका लागि बजेट विनियोजन गरिएको छ ।

७०० मिटर लम्बाई र ३० मिटर चौडाईको धावन मार्ग रहेको विमानस्थल कालोपत्रे भएसंगै बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्य हुने समस्या टरेको र संचालनमा केहि बाधा नरहने जनप्रतिनिधि बताउँछन् ।

१८ पञ्चायत अन्तरगतका स्थानीयको श्रमदानमा निर्माण गरिएको विमानस्थल संचालनमा आउने पर्खाईमा छन् यहाँका स्थानीय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *