Main News

मध्यपहाडी लोकमार्गका ठेकेदारलाई सोधियो सात दिने स्पष्टीकरण

२०७९ जेठ १८ गते १४:०२
मध्यपहाडी लोकमार्गका ठेकेदारलाई सोधियो सात दिने स्पष्टीकरण

१८ जेठ २०७९ गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ ।

निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा आज एक सूचना प्रकाशित गर्र्दै सात दिनभित्र कार्यालयमा आई लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । मध्यपहाडी राजमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द–शङ्करमाली जेभीलाई स्पष्टीकरण सोधेको हो । हटिया–बुर्तिवाङ खण्ड निर्माणको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

स्वच्छन्द–शङ्करमाली जेभीका आधिकारिक प्रतिनिधि इ हेमराज गुभाजुका नाममा आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरिएको छ ।

कालोपत्र भएको सडकसमेत खाल्डा परेको, फिनिसिङ नगरेको र सम्झौताअनुसारको पूर्वाधार नबनाएको तथा पटक–पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

सात दिनभित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनीसमेत दिएको छ । ठेक्काअन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शङ्करमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।

प्रतिक्रिया

One thought on “मध्यपहाडी लोकमार्गका ठेकेदारलाई सोधियो सात दिने स्पष्टीकरण

  1. तेता मात्र होईन रुकुम (पश्चिम् ) सितलपोखरी -झुलखेत -चुन र रुकुम (पुर्ब ) नाईगार जामाबगरको काम पनि लथालिङ्ग छ हामी काम गरेका पेटि ठेकेदारहरुले करोडौं भुक्तानी लिन बाकी छ र ब्लान्क चेक रहेकाले निजलाई अदालतको प्रक्रियामा अगाडी जाने जमर्को भैइराखेको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *