खेलकूद

चुनावी दाउपेच : पूर्व एन्फा अध्यक्ष गणेश थापाको सक्रियता बढ्दै (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १७ गते २०:३८
चुनावी दाउपेच : पूर्व एन्फा अध्यक्ष गणेश थापाको सक्रियता बढ्दै (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७९ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन नजिकिँदै जाँदा पूर्वअध्यक्ष गणेश थापाको सक्रियता बढेको छ ।

आफ्नो चरित्र हत्या गर्ने अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ज्ञापनपत्र बुझाउनेदेखि कानुनी प्रक्रियामा जाने तयारीमा छन् । थापाले आफू अन्यायमा परेको बताएर सक्रिय भइरहँदा यसलाई खेलवृत्तमा चुनावी दाउपेचका रुपमा हेर्न थालिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति निर्वाचन नजिकिँदै जाँदा पदाधिकारीहरुको चुनावी सक्रियता चुलिएको छ । अध्यक्षका दुई दावेदार कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ प्यानलसहित चुनावी दौडमा छन् । अध्यक्षका अर्का प्रत्यासी राजीव पौडेल पनि मतदाता रिझाउने कसरतमा छन् ।

चुनावी सरगर्मी बढिरहँदा एन्फाका पूर्वअध्यक्ष गणेश थापाको सक्रियतासमेत बढिरहेको छ । एन्फा अध्यक्ष शेर्पाले झुट्टा आरोप लगाउँदै आफ्नो चरित्र हत्या गरेको भन्दै कारवाहीको मागसहित थापा अहिले कानुनी प्रक्रियामा जाने तयारीमा छन् ।

आफूविरुद्ध लगाएका आरोपको खण्डन गर्दै आएका थापाले यसबीचमा एन्फा अध्यक्ष शेर्पालाई कारवाहीको माग राख्दै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र एन्फाकै अनुशासन कमिटीमा ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

शेर्पालाई फिफा कोड अफ इथिक्सको आर्टिकल ५८ बमोजिम कारवाही हुनुपर्ने थापाको माग छ । नेपाली खेलकुदको नियामक निकाय राखेपबाट आफुलाई न्याय मिल्ने विश्वास गरेका थापाले गत साता सदस्य सचिवलाई निवेदन दिए पनि अहिलेसम्म कुनै प्रक्रिया थालिएको छैन् । थापाको माग आफ्नो क्षेत्राधिकारभित्र नपर्ने सदस्य सचिव टंकलाल घिसिङले बताए ।

यसअघि थापाले पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले लगाएको १४ आरोप सार्वजनिक गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका थिए । हुनत विगतदेखिनै एन्फाको कार्यशैलीप्रति सार्वजनिक रुपमै आलोचनात्मक टिप्पणी गरिरहने थापाले पछिल्लो समय भने एन्फा अध्यक्ष शेर्पा लक्षित वक्तव्य दिँदै आएका छन् ।

विगतमा थापाकै नेतृत्वमा रहेका शेर्पा र नेम्वाङ चेन्ज एन्फा नारा दिएर फुटबलको नेतृत्वमा पुगेका थिए । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा परेका थापा बाहिरैबाट एन्फाको गतिविधिलाई नजिकैबाट नियाली रहेका थिए । तर चुनाव नजिकिँदै जाँदा पत्रकार सम्मेलन गर्दै एन्फा नेतृत्वको आलोचना गर्नु, खेलसम्बद्ध निकायमा थापाको दौडधुप बढ्नुलाई न्यायका लागि भन्दा पनि चुनावी स्टन्डको रुपमा हेर्न थालिएको छ ।

थापाले आफ्नो सक्रियता चुनाव लक्षित नभएको बताइरहे पनि वर्तमान अध्यक्ष शेर्पालाई एन्फा कार्यसमितिमा आउन रोक लगाउने उद्देश्यले थापा लागि परेको आरोप शेर्पा समुहको छ । त्यसैले उनीहरु फिफाको डर देखाएर थापाको गतिविधि निस्तेज पार्ने दाउमा छन् ।

एन्फाको केन्द्रीय निर्वाचन आउनै लाग्दा थापाले फुटबलमा फेरि चलखेल र अनावश्यक सक्रियता देखाउन थालेपछि फिफाले सचेत गराइसकेको छ । फिफाको पछिल्लो पत्रले केहि हच्काए पनि फुटबल राजनीतिमा अझै पनि थापा फ्याक्टर कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्