राजनीति

बजेटका विषयमा सत्तापक्ष र विपक्षीका सांसदबीच आरोप–प्रत्यारोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १७ गते १६:४२
बजेटका विषयमा सत्तापक्ष र विपक्षीका सांसदबीच आरोप–प्रत्यारोप (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७९ काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटबारे सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका सांसदहरुबीच आरोप–प्रत्यारोप भएको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको बजेट संघीयता विरोधी भएको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहका क्षेत्राधिकारलाई मिचेर केन्द्रले नै साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले अहिले ल्याइएको बजेटले देशले थेग्न नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको बताउनुभयो । उहाँले मंसिरमा प्रतिनिधिसभाको आयु सकिएर चुनाव हुनुपर्ने भन्दै वर्तमान सरकार चुनावी सरकार भएको बताउनुभयो । तर बजेट संघीयताको भावना विपरित अन्धाधुन्धरुपमा ल्याइएको उहाँको आरोप थियो ।

पौडेलको टिप्पणीपछि कांग्रेस सांसद मिनेन्द्र रिजालले पदीय भूमिका फेरिने वित्तिकै अर्थतन्त्रका विषयमा आकाश र जमिनको भिन्नता नखोज्न सुझाव दिनुभयो । उहाँले विगतमा आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न पनि सुझाउनुभयो ।

अर्का सत्तारुढ दल माओवादी केन्द्रका सांसद वर्षमान पुनले वर्तमान सरकारले ल्याएको बजेट कृषि क्षेत्रमा छलाङ नै भएको बताउनुभयो । उहाँले कृषिको बजेटमा ३२ प्रतिशतले वृद्धि हुनु उल्लेखनीय रहेको बताउनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथि सामान्य छलफल सुरु भएको छ । सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्