Main News

तारा एयरको विमान दुर्घटना : तेह्र जनाको शव भेटियो

२०७९ जेठ १६ गते १२:२४
तारा एयरको विमान दुर्घटना : तेह्र जनाको शव भेटियो

१६ जेठ २०७९ म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ ।

दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।

हेलिकप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेकाले हेलिकप्टरमार्फत थप सुरक्षाकर्मी लैजान र सङ्कलित शव ल्याउन समस्या भएको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । शव पहिचान, सुरक्षित बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाली सेनाको एक, फिस्टेल र कैलाश एयरको एक÷एक वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक वटा हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छाडेर नाउरीकोट आएको थियो ।

कुहिरो हट्नैवित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने र सङ्कलित शव ल्याउने तयारी गरिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हँुदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो ।

कुहिरो लागेको र प्रतिकूल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौँबाट नेपाली सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *