बहसमा वृद्धभत्ता : पछिल्लो सात बर्षमा कतिले बढ्यो ? (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ काठमाडौं । पछिल्लो सात वर्षमा वृद्धभत्ता चार गुणाले बढेको छ । बजेटमा यसको हिस्सा ३ प्रतिशत छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले पुनः वृद्धभत्ता पाउने उमेर घटाउने बुझिएको छ । राज्यले नागरिकको हातहातमा पैसा बाँढ्नेभन्दा पनि स्वास्थ्य सुविधा, हेरचाह, स्याहार सुसार र सहज जीवनयापनका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा बहस केन्द्रित हुन थालेको छ ।
आर्थिक वर्ष २०७९–८० को बजेट मार्फत सरकारले वृद्धभत्ता पाउने उमेर घटाउने तयारी गरेको बुझिएको छ । हाल ७० वर्ष उमेर पुगेका नागरिकले वृद्धा भत्ता पाउने गरेकामा अब ६८ वर्ष उमेर पुगेकाले त्यो सुविधा पाउने व्यवस्था गर्न लागिएको बुझिएको छ ।
वृद्धभत्ताको रकम बढाउने वा पाउँने उमेर घटाउने भन्नेमा राजनीतिक दलहरु विगतदेखि नै प्रतिष्पर्धामा उत्रिने गरेका छन् । अझ यो पटक त मंसिरमा निर्वाचन समेत हुने भएकाले सरकारले नागरिकलाई तत्कालका लागि खुसी पार्ने नीति तथा कार्यक्रमहरु बजेट मार्फत ल्याउने निश्चित छ । राज्यको ढुकुटीमाथिको दबाब बढिरहेका बेला सामाजिक सुरक्षा भत्ता बढाउन दलहरुले प्रतिस्पर्धा गर्न नहुने सुझाव छ ।
चालू आर्थिक वर्षको बजेट मार्फत नै सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढाएर ४ हजार रुपैयाँ पुर्याएकोछ । करिब १३ लाख नागरिकका लागि ६२ अर्ब रुपैयाँ छुट्याइएको छ । यो रकम बजेटको ३ दशमलव ८ प्रतिशत हो ।
उमेर घटाउने वित्तिकै यसको भार करिब २ खर्ब नजिक पुग्ने छ । त्यसले गर्दा सामाजिक सुरक्षा भत्तामा सरकारले निश्चित मापदण्ड बनाएर पैसा बाढ्ने भन्दा पनि सामाजिक जीवनको सुरक्षा प्रदान गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा एमाले सरकारले २०५१ सालमा ७५ वर्ष पुगेकालाई हरेक महिना एक सय रुपैयाँ वृद्धभत्ता बाँड्न सुरु गरेको थियो । २०६० सालमा एक सय ७५ रुपैयाँ, २०६५ मा पाँच सय, २०७१ मा १ हजार पुर्याइएको थियो ।
यस्तै २०७२ मा २ हजार, २०७६ मा ३ हजार हुँदै २०७८ मा ४ हजार पु¥याइएको छ । सात वर्षमा वृद्धभत्ता चार गुणाले बढाइएको छ । हाल करिब ११ लाख परिवार गरिबीको रेखामुनि छन् भने १३ लाख ज्येष्ठ नागरिकमा अधिकांश व्यक्ति उच्च र मध्यम वर्गका छन ।
प्रतिक्रिया