Main News

अझै कति दिन पानी पर्ला ? के भन्छ मौसम पूर्वानुमान महाशाखा ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १४ गते १८:३२
अझै कति दिन पानी पर्ला ? के भन्छ मौसम पूर्वानुमान महाशाखा ? (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ काठमाडौं । बिहीबारदेखि देशभरको मौसम बदली हुँदा वर्षा भैरहेको छ । पछिल्लो मौसमी प्रणाली अझै दुई तीन दिन बाँकी रहने भएकाले सोमबारसम्म पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

छिनमै पानी पर्ने, घाम लाग्ने, हावाहुरी चल्ने, मेघगर्जनका साथै असिना पानी र चट्याङ पर्ने । यी विशेषता वर्षा याम सुरु हुनुअघिको प्रि मनसुनका हुन् । अहिले प्रिमनसुनको समय भए पनि बिहीबार अपरान्हदेखि भने वर्षायाममा जस्तै पानी परिरहेको छ ।

शनिबार बिहानैदेखि पानी परिरह्यो । यो क्रम अझै दुई दिन अर्थात् सोमबारसम्मै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आइतबार अझै बढी वर्षा हुने संभावना रहेको छ ।

प्रि मनसुनमा स्थानीय रुपमा विकसित प्रणालीका कारण वर्षा हुने भएपनि अहिलेको वर्षा स्थानीयका साथै भारतको बिहारमा रहेको न्यून चापीय रेखा, पश्चिमी वायुको कारण बढी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

सामान्यतया चैतदेखि असारसम्मको समयलाई प्रि मनसुन भनिए पनि यसपटक चैत र वैशाखमा औसतभन्दा कम पानी परेको महाशाखाको भनाइ छ । तर वैशाखको अन्तिम अन्तिमतिरबाट भने वर्षा हुने क्रम् बढेको र मनसुन शुरु हुनु अघिसम्म यो क्रम अझै बढ्ने मौसमविद्हरुले अनुमान गरेका छन् ।

यो मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । औसत वर्षा १५ सय मिलिमिटर भए पनि यो पटक त्यो भन्दा बढि पानी पर्ने संभावना रहेको छ । सामान्यतया नेपालमा जुन १३ तारिखबाट मनसुन सक्रिय हुने भएपनि यसपटक त्यो भन्दा हप्तादिन छिटो सक्रिय हुने अनुमान गरिएको छ । बढी वर्षा हुने र त्यसले पार्ने प्रभाव न्यूनीकरणका लागि पूर्वतयारीका साथै सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

गत वर्ष पनि राम्रै वर्षा भएको थियो भने सिन्धुपाल्चोक, मुगु, गुल्मी लगायतका स्थानमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो । वर्षायाममा पहाडमा बाढी पहिरोको जोखिम हुने र तराई मधेशमा बाढिका साथै डुबानको ठूलो समस्या भएकाले समयमै सचेत हुन आवश्यक छ । बाढी पहिरोको जोखिममा अहिले पनि यी क्षेत्रहरु बढी रहेकाले वर्षा शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी अपनाएर जनधनको क्षति रोक्न र न्यूनीकरण गर्न आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *