Main News

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

२०७९ जेठ ११ गते ८:४६
तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

११ जेठ २०७९ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि हुनुहुन्छ ।

खड्काले ३० हजार ३५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गर्नुभएको छ । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ ।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि हुनुहुन्छ । उहाँले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पार्नुभएको छ । चौधरीले २९ हजार ३४५ मत प्राप्त गर्नुभएको छ भने रानाले २० हजार १४४ मत प्राप्त गर्नुभएको छ ।

उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.