Main News

पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य तीन हजार २७२ मतले अगाडि

२०७९ जेठ ७ गते २१:१९
पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य तीन हजार २७२ मतले अगाडि

७ जेठ २०७९ पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार २७२ मतले अघि हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ८ बजे जारी गरेको अद्यावधिक मत परिणाम विवरणानुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । यसैगरी प्रमुखका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापा ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइरहनुभएको छ ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ३७ हजार ५४५ मत ल्याउनुभएको छ ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यसमा नेपाली कांग्रेसले १४ वडामा जीत हासिल गरेको छ भने एमालेले छ वडा जितेको छ ।

गत वैशाख ३१ गतेदेखि पोखराको मतगणना सुरु भएकामा हालसम्म नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको छ । नेकपा (एमाले)ले वडा नं १, ५, ६, ८, १५ र २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । अहिले पोखराका वडा नं १०, ११, १६, १७, १८, १९, २९, ३० र ३१ को मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *