गोला प्रथामा नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ विजयी
५ जेठ २०७९ धादिङ । मत बराबरी भएपछि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षमा गोलाप्रथा गरिएको छ। गोला प्रथामा नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलको वडाध्यक्ष बनेर जनताको सेवा गर्ने सपना एउटै गोलाले अधुरो बनाइदिएको छ। मतगणनामा कांग्रेसका उम्मेदवार श्रेष्ठ र माओवादी केन्द्रका उम्मेदवार रम्तेल दुवैजनाको बराबर ७ सय ५८ मत पाएका थिए।
वडा अध्यक्षमा बराबर भएपनि ४ वटा वडा सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन्। नामको वर्णानुक्रम अनुसार पहिले भुपेन्द्रले गोला थुतेका थिए। २०७४ सालमा पनि रम्तेल थोरै मतले नेकपा एमालेका उद्धव रिजालसँग पराजित भएका थिए।
अर्को रोचक कुरा त के छ भने गत वैशाख २८ गते राती नेपाली कांग्रेसका उम्मेदवारलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रम्तेल प्रहरी हिसासतमा छन् भने उक्त घटनामा गम्भीर घाइते भएका कांग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ भने टाउकोको अपेशन गरेर काठमाडौं अस्पतालमा उपचाररत रहेका छन्। गोला झिक्नका लागि रम्तेललाई प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको हो भने भुपेन्द्रको तर्फबाट कांग्रेस धादिङका पार्टी सभापति रामनाथ अधिकारी रोहवर बसेका थिए।
२८ गतेको झगडामा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ता प्रहरी हिसासतमा पुगेपछि उनीहरुले मतदान गर्न पाएका थिएनन्। ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाई अभिषाप बन्न पुग्यो। कांग्रेसका उम्मेदवार श्रेष्ठ गम्भीर घाइते अवस्थामा नै एम्वुलेन्स चढेर मत हाल्न पुगेका थिए। माओवादीका रम्तेललाई भने मतदान गरेको केहिबेरमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया