Main News

संसद्को एघारौँ अधिवेशन प्रारम्भ, एमालेले विरोधको स्वरुप परिवर्तन गर्ने

२०७९ जेठ ३ गते १७:१८
संसद्को एघारौँ अधिवेशन प्रारम्भ, एमालेले विरोधको स्वरुप परिवर्तन गर्ने

३ जेठ २०७९ काठमाडौं । सङ्घीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो ।

बैठकको प्रारम्भ मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद प्रदीप ज्ञवालीलाई बोल्न समय दिनुभएको थियो । उहाँले सम्बोधन गर्दै सदनमा आफ्नो पार्टीले लगातार विरोध गर्नुको कारण बारे बताउनुभयो । उहाँले मुलुक स्थानीय तहको निर्वाचनपछि नयाँ कोर्षमा गएकाले एमालेले संसद् गर्दै आएको विरोधलाई आजदेखि नयाँ स्वरुपमा परिवर्तन गरेको जानकारी गराउनुभयो । एमालेले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्नेलगायत माग राखी अघिल्लो अधिवेशनदेखि निरन्तर बैठक अवरोध गर्दै आएको थियो ।

उहाँले आफ्ना सांसदलाई कारबाही गरिएको सम्बन्धित मुद्दाको फैसला गर्न अदालतले गरेको ढिलाइप्रतिसमेत असन्तुष्टि जनाउनुभयो । उक्त विषयमा आफ्नो अडान यथावत रहेको उहाँको भनाइ थियो । उहाँले मुलुकको वर्तमान आर्थिक सङ्कटका बारेमा आफ्नो पार्टी निकै चिन्तित रहेको बताउँदै उहाँले सबै मिलेर समाधानमा पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यसका लागि नयाँ ढङ्गको बहस र सोचको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले एमालेले त्यसबारेमा संसद्मा आवाज उठाउने बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षबाट आचारसंहिता उल्लङ्घन भएको आरोप लगाउँदै सांसद ज्ञवालीले सुरक्षा निकाय र कर्मचारीतर्फबाट आफूलाई सहयोग नभएको टिप्पणी गर्नुभयो । निर्वाचनमा आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी पारिएको बताउँदै उहाँले सत्ताको दुरुपयोग भएको आरोपसमेत लगाउनुभयो । यसैगरी सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *