Main News

मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा

२०७९ वैशाख २९ गते ६:५१
मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा

२९ वैशाख २०७९ दमौली । स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणनास्थल तयार गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेको हो ।

निर्वाचनपश्चात् मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य पालिकाकामा तारबारसहित मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ ।

व्यास नगरपालिकाको मतगणनाका लागि जिल्ला समन्वय समितिको तीनवटा कोठामा मतगणनास्थल तयार गरी एकैपटक मतगणनाका लागि बाँसको घेराबार लगाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । त्यहाँ सिसी क्यामेरा जडान गरिएको छ ।

“सबैलाई चित्तबुझ्दो हुने गरी भरपर्दो र सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमै पाइने बाँस प्रयोग गरी घेराबार गरिएको छ ।” ढुङ्गानाका अनुसार व्यास नगरपालिकाको मतगणना बढीमा पाँच दिनमा सक्ने तयारी गरिएको छ ।

देवघाटस्थित निर्वाचन अधिकृतको कार्यालयले वडा नं ५ स्थित सभाहलमा मतगणनास्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणनास्थल तयार गरिएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । घिरिङस्थित निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाको कार्यालय भवनमा मतगणनास्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणनास्थल बनाइने निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिनेछ ।

आँबुखैरेनीस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि गाउँपालिकाकै भवनमा मतगणनास्थल बनाएको छ । फलामको तारजालीले बारेर सिसी क्यामेरा जडान गरी मतगणनास्थल बनाइएको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

यसैगरी मिन माध्यमिक विद्यालयमा तीनवटा कोठामा मतगणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “मतगणनास्थल तयार भइसकेको छ, प्रत्येक कोठामा सिसी क्यामेरा पनि जडान गरेका छाँै ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित गर्न दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

घिरिङमा मतगणनास्थल परिवर्तन
तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ । यसअघि वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणनास्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिनुभयो । विद्यालय भवनमा सुरक्षाको प्रत्याभूति नहुने र निर्वाचनलगत्तै विद्यार्थी भर्नालगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो ।

विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले)ले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाको क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाविस अध्यक्ष विष्णुप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *