Main News

निजी विद्यालयमा पनि दुई दिन बिदा दिने शिक्षा मन्त्रालयको निर्णय

हिमालय टिभी
२०७९ वैशाख २८ गते १६:५६
निजी विद्यालयमा पनि दुई दिन बिदा दिने शिक्षा मन्त्रालयको निर्णय

२८ वैशाख २०७९ काठमाडौं । शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

मन्त्रालयमा आज बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो । सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरे पनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुने छ । अरु नपुग हुने दिन हिउँदे र बर्खे बिदाबाट कटाएर पढाइ सक्नेसमेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयको निर्णयअनुसार विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदालगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ ।

उहाँले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्नुपर्ने जानकारी दिनुभयो ।

यस्तै बैंक तथा वित्तीय संस्थामा पनि सातामा दुई दिन बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *