आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
२७ वैशाख २०७९ काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुंदैछ ।
प्रचारप्रसार गर्ने आज अन्तिम दिन भएकाले पनि दल तथा उम्मेदवारले प्रचारप्रसारलाई तीब्र पारिरहेका छन् ।
मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
मतदानस्थलको ३ सय मिटर वरपर राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री मौन अवधि शुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ। यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।
अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन नपाउने आयोगले जनाएको छ ।
यस्तै आज रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । निर्वाचन सुरक्षाका लागि आज मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।्
आयोगले आज मध्यरातदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया