Main News

फोहरको डंगुरमा उम्मेदवार– १० दिनदेखि काठमाडौंका सडकमा फोहरको डंगुर (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २१ गते २१:३६
फोहरको डंगुरमा उम्मेदवार– १० दिनदेखि काठमाडौंका सडकमा फोहरको डंगुर (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७९ काठमाडौं । सफा, सुन्दर र हराभरा गाउँ सहर निर्माण अधिकांश उम्मेदवारको नारा छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबैजसो दल र उम्मेदवारहरुले आफ्नो पालिकामा आमूल परिवर्तन गराउने सपना बाँडिरहेका छन् । घरदैलो गर्दै भोट माग्दै हिँडेका उमेदवारहरुलाई संघीय राजधानीका फोहरका थुप्राले भने गिज्याइरहेका छन् ।

यतिबेला उम्मेदवारहरुलाई सपनाको खेती गर्न भ्याइनभ्याई छ । ठूलठूला सपना बोकेर उम्मेदवारहरु घरदैलोदेखि आमसभासम्म पुगिरहेका छन् । देशभरका सबैजसो पालिकामा उम्मेदवारहरुले मतदातालाई लोभ्याउने मिठामिठा नारा सुनाइरहेका छन् ।

संघीय राजधानी काठमाडौंदेखि दुर्गम गाउँसम्म मिठा नारा घन्किएका छन् । तर यहीबेला काठमाडौंमा भने लामो समयदेखि नउठेको फोहरको नमिठो दुर्घन्ध आइरहेको छ । फोहर नउठेपछि नागरिक उम्मेदवारसँग आक्रोशित छन् ।

काठमाडौं उपत्यकाका प्रत्येक सडकमा फोहोर थुप्रिएको छ । गर्मी मौसमका कारण फोहरका थुप्राबाट दुर्घन्ध निस्किँदा बाटो ओहोरदोहोर गर्नै कठिन छ ।

काठमाडौंको फोहोर अहिलेको कुरा मात्र होइन, वर्षौँदेखिको समस्या हो । यो समस्या समाधानमा काठमाडौं महानगरपालिका असफल जस्तै छ । यतिबेला मिठा नारा बोक्ने उम्मेदवारहरु सडकभरि भएपछि महानगर पनि चुप लागेर बसेको नागरिकको गुनासो छ ।

हरेकजसो निर्वाचनमा उम्मेदवार मिठै नारा बोकेर आउँछन् र कामै नगरी कार्यकाल बितेपछि आलोचनाका शब्दहरुको सामना गर्दै बिदा हुन्छन् । यतिबेला भोट माग्नेबेलैमा काठमाडौंमा फोहोरका थुप्रा लागेका छन् । यी थुप्राहरुले पुराना जनप्रतिनिधिलाई मात्र होइन, सहर सफा पार्छौँ भन्ने एजेण्डा बोकेका नयाँ उम्मेदवारलाई पनि गिज्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *