Main News

विभिन्न पदमा उम्मेदवारी दिएका ३ सय ५३ जना निर्विरोध निर्वाचित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १९ गते १७:५०
विभिन्न पदमा उम्मेदवारी दिएका ३ सय ५३ जना निर्विरोध निर्वाचित (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३ सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ ।

आज निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३ सय ५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभएको हो । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उहाँले जानकारी दिनुभयो ।

आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उलंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिताविपरीतका काम नगर्न निर्देशन दिएको छ ।

त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शशांक कोइरालाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्तिप्रति जवाफ माग गरिएको र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत गराएको छ । सहायक प्रवक्ता अर्यालले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति सचेत गराइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगले चित्त बुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दलहरुलाई सचेत गराएको छ । ’

आयोगले काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले बैशाख १५ गते धुम्बाराहीस्थित नेशनल मेडिकल कलेजमा आयोजना भएको छलफलमा आचारसंहिता विपरितको अभिव्यक्ति दिएकाले सो विषयमा आधार र कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन पनि दिएको छ ।

आयोगको निर्णयबारे सहायक प्रवक्ता अर्यालले भन्नुभयो – ‘नेकपा(एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनुभएका केशव स्थापितले मिति २०७९ वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आचारसंहिता २०७८को दफा ४ को सबैले पालना गर्नुपर्ने आचरणको खण्ड च,ठ र ढ साथै आचारसंहिताको दफा १२ को जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड द अनुकुल नभएकाले सो विषयमा आधार, कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोग निर्देश गर्दछ ।’

साथै सो कार्यक्रमका सन्दर्भमा के, कसो भएको हो विस्तृत लेखी पठाउन आयोगले नेशनल मेडिकल कलेजलाई पनि आग्रह गरेको छ भने स्थापितविरुद्ध विज्ञप्ती निकाल्ने महिला पुनर्स्थापना केन्द्र ओरेकलाई पनि सो विज्ञप्ति हटाएको प्रमाणसहित २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भिर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *